काठमाडौं– चेन्नई सुपर किंग्सलाई पराजित गर्दै राजस्थान रोयल्स इन्डियन प्रमियर लिग (आईपीएल)को शीर्ष स्थानमा उक्लिएको छ। बुधबार राति भएको खेलमा राजस्थानले चेन्नईविरुद्ध ३ रनको रोमाञ्चक जित हात पार्यो।
पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै १७५ रन बनाएको थियो। १७६ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङ थालेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो।
चेन्नईका लागि ओपनर डेभोन कन्वेले सर्वाधिक ५० रन बनाए। अजिक्का राहानेले ३१ रन बनाए भने कप्तान महेन्द्र सिंह धोनीले अविजित ३२ रन बनाए। रविन्द्र जडेजाले २५ रन बनाए।
चेन्नईविरुद्ध राजस्थानका लागि युजभेन्द्र चहल र रविचन्द्रन आश्विनले समान २–२ विकेट लिए। सन्दीप शर्मा र एडम जाम्पाले समान १–१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो। राजस्थानका लागि ओपनर जोस बटलरले ५२ रनको अर्धशतकीय इनिङ खेले।
देवदत्त पडिकलले ३८ रन बनाए भने रविचन्द्रन आश्विनले ३० तथा शिमरन हिटमायरले अविजित ३० रन बनाए। ओपनर यसस्वी जैसवाल १० रन बनाए।
चेन्नईका लागि तुशारदेश पान्डे, रविन्द्र जडेजा र आकाश सिंहले समान २–२ विकेट लिए। यस्तै, मोईन अलीले १ विकेट लिए।
४ खेलमध्ये ३ खेलमा जित निकाल्दै ६ अंक जोडेर राजस्थान तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै विजयी सुरुवात गरेको राजस्थान दोस्रो खेलमा भने पञ्जाव किंग्ससँग पराजित भएको थियो। तेस्रो खेलमा भने दिल्ली क्यापिटल्सलाई हरायो।
पहिलो खेलमा गुजरात टाइटन्ससँग पराजित भएको चेन्नईले दोस्रो खेलमा लखनउ सुपर जायन्ट्स र तेस्रो खेलमा मुम्बई इन्डियन्सलाई पराजित गरेको थियो। ४ खेलमध्ये २ मा जित र २ मा हार बेहोरेको चेन्नई ४ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।