काठमाडौं– २०७० सालको बैशाख ९ गते घरको रमाइलो वातावरणमा एक्सासी आफ्नो जिन्दगीमा अन्धकार कालो बादल बनेर आएको घटनापछि जीवन–संघर्ष गरिरहेकी विन्दबासिनी कंशाकारको एउटा सपना पूरा हुनेतिर लम्केको छ।
एसिड आक्रमणमा परेर आफ्नो हँसिलो संसार गुमाएकी उनी अब केही दिनमै राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा सांसदको रुपमा यात्रा थाल्ने पक्का भएको छ। रास्वपाले २ करोड घुस प्रकरणमा अडिओ सार्वजनिक भएका सांसद डा ढाकाप्रसाद श्रेष्ठलाई सांसदबाट निलम्बन गर्न सिफारिस गर्नेदेखि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि विन्दबासिनीको ‘भाग्य’ खुलेको हो।
समानुपातिकतर्फ जनजाती महिलाको सूचीमा रहेकी उनी यसअघि अटाएकी थिइनन्। सांसद श्रेष्ठ कारबाहीमा परेपछि दललाई उनी छान्ने विकल्प खुलेको थियो। उनको स्थानमा दलले मेघबहादुर आलेलाई पठाउन सक्थो। तर बुधबार बसेको रास्वपाको केन्द्रीय कार्यसमिति बैठकले कंशाकारलाई नै पठाउने निर्णय गर्यो। योसँगै अब उनले प्रतिनिधि सभाको रोष्टममा पुगेर आफूजस्तै पीडितहरुको आवाज उठाउने र उनीहरुका लागि कानुन बनाउन भूमिका खेल्ने अवसर पाएकी छन्।
विन्दबासिनीमाथि यसरी भएको थियो तेजाव आक्रमण
भारतीय नागरिक कमलराज केंसारको (एसिड प्रहार गर्ने)सँग पहिलो पटक फूपुको छोराको मिल्ने साथीको रुपमा परिचय भएको थियो। उसले आफ्नो नाम केशरी बताएको थियो।
विन्दबासिनीको पहिलो भेट फूपुको छोराको विवाहमा भएको थियो। त्यसपछि कहिलेकाही फाट्टफुट्ट भेट हुन्थ्यो। केशरी फूपुको घरमा निरन्तर आइरहन्थे। उनी पनि त्यहिँ जाने क्रममा भेट हुन्थ्यो। केशरी त्यसपछि हेटौंडाको मेनरोडमा अवस्थित विन्दबासिनीको पसलमा पनि आउन थाले।
कलेज जाँदा, ट्युसन जाँदा पनि बाटो ढुकेर बस्ने र पछ्याउने गर्न थाले। केशरीले विन्दबासिनीको नम्बर पत्ता लगाएर ब्लफ कल पनि गरेर सताउन थाले। कैयौंपटक केशरीले विन्दबासिनीलाई फोनबाट प्रेम प्रस्ताव राखे। तर उनले मानिनन्। एक दिन विवाहकै प्रस्ताव राखेपछि आफू विवाह गर्न नसक्ने भन्दै सम्झाउने प्रयास गरिन्। तर केशरी सधैंझै एकतर्फी प्रस्तुत भइराखे।
दैनिकी नै असर पर्नेगरी पटक–पटक भेट्ने र विवाको प्रस्ताव स्वीकार्न दबाब दिन थालेपछि विन्दबासिनीले उक्त कुरा परिवारमा सुनाइन्। केशरीले आफूलाई मानसिक रुपमा तनाव दिएको र हिँडडुल गर्नै असुरक्षित हुँदै गएको समस्या परिवारमा सुनाइन्।
भोलिपल्ट बिहानै पसलमा बसिरहेकी विन्दबासिनीलाई भेट्न आएका केशरीलाई विन्दबासिनीका बुबा मधुसुधनले राम्रोसँग सम्झाएर पठाए। त्यतिखेर सबै कुरा सम्झेझैं गरेर पसलबाट बाहिरिएका केशरी उनका मिल्ने साथी अर्थात विन्दबासिनीका फूपुको छोरासँग मेलामा स्टल राख्न चितवन गए।
२०७० सालको बैशाख ९ गते, घरमा विवाहको वर्षगाँठको उत्सव चलिरहेको थियो। बैशाख ९ आमा बुबाको विवाह भएको दिनलाई उत्सवको रुपमा मनाउने तयारीमा विन्दबासिनी पनि लागेकी थिइन्। विन्दबासिनी पसलमा बसिरहेकी थिइन्। एकाएक पसल अगाडि केशरी देखा परे। विन्दबासिनीले नदेखेझैं गरिन्।
हातमा महको बट्टा बोकेका केशरी हँसिलो अनुहार पारेर फेरि कतै हराए। एक्कै छिनपछि फेरि हातमा त्यही महको बट्टा बोकेर पसलको टेबलमै आए। यो मह घरमा देउ ल? यति भनेर बिर्को खोल्न थाले। अब के कसो गर्ने भन्ने अन्योलमै थिइन् विन्दबासिनी। केही सोच्नै नपाइ केशरीले बट्टा खोले र विन्दबासिनीको अनुहारतिर छ्यापेर फरार भए।
आफूतर्फ छ्यापिएको वस्तुलाई मह नै सम्झेकी विन्दबासिनी एकैछिनमा भत्भती पोल्न थालेपछि चिच्याइन्। बुबा, आमा, दाइ आत्तिदै आएर हेर्दा उनको अनुहार डडेको थियो। छोरीको अनुहारमा कसैले तेजाव खन्याएको थाहा पाएपछि परिवार आत्तियो। कक्षा १२ मा अध्ययनरत उनी तत्कालीन समयमा १९ वर्षकी थिइन्। उनले तीन पटक अनुहारको सर्जरी गरिसकेकी छन्।
दाइको साथीको रुपमा परिचय भएर आएको व्यक्ति नै आफ्नो जीवनको सबैभन्दा ठूलो पीडाको कारक बनेपछि उनी यसलाई अभियान बनाएर लागिन्। वाणिज्यमा स्नातक गरेकी विन्दबासिनीले सरकारले न्यायसँगै तेजाव पीडितहरुका लागि समाजमा स्थापित हुने कानुन बनाउनुपर्ने माग गर्दै आएकी थिइन्।
उनी अब आफैं कानुन बनाउने निकायमा पुग्ने भएकी छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ गते भएको निर्वाचन अघि उक्त दलमा जोडिएकी थिइन्। पार्टीले उनलाई समानुपातिकको सूचीमा राखेको थियो। अघिल्लो पटक उनको पालो आएन तर यसपटक एक सांसद कारबाहीमा परेपछि उनको सांसद यात्रा हुने देखिएको छ।
जिल्ला अदालतद्धारा ८ वर्ष कैद र एक लाख जरिवानाको फैसला
जिल्ला अदालत मकवानपुरले युवतीमाथि एसिड प्रहार गर्ने भारतीय नागरिकलाई दोषी ठहर गर्दै ८ वर्ष कैद र एक लाख जरिवानाको फैसला २०७६ फागुनमा सुनायो। यो पनि उनले न्यायको महशुस गरिन्। लामो समय फरार रहेपछि उनले न्यायको आश मारेकी थिइन्।
अभियुक्तबाट उपचार खर्च एक करोड १४ लाख ८५ हजार रुपैयाँ भराउन पनि अदालतले भनेको छ। अभियुक्तलाई सघाउने एक जनालाई २ वर्ष ६ महिना कैद र ४० हजार रुपैया जरिवानाको फैसला सुनाएको थियो।
जिल्ला न्यायाधीश कमलराज विष्टको इजलाशले भारत महाराजगञ्जस्थित अमरपूर्वन–६ का राज भन्ने दिलीपराजलाई मुख्य अभियुक्तको रुपमा सजाय सुनाएको थियो।
केशरीलाई साविकको मुलुकी ऐन ज्यान सम्बन्धी महलको १५ नम्बर मुलुकी अपराधसंहिता २०७४ दफा १८३ (२) अनुसार ८ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानासहित उपचार खर्च एक करोड १४ लाख ८५ हजार भराउने फैसला गरेको थियो।
उक्त इजलासले युवती कंशाकारमाथि एसिड प्रहार गरी मुख्य अभियुक्तलाई भगाउने काम गरेका सन्जयकुमार मण्डललाई २ वर्ष ६ महिना कैद र ४० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो। हेटौँडा बजारको मुख्य चोकमा आफ्नै भाँडा पसलमा बसिरहेका बेला कंशाकारलाई एसिड आक्रमण गरेर भाग्ने क्रममा मुख्य अभियुक्त केशरीलाई मण्डलले मोटरसाइकलमा राखेर भगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।