काठमाडौं– दुई करोड रुपैयाँ घुस मागेको अडिओ सार्वजनिक भएपछि कारबाहीमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दबासिनी कंशाकारलाई समानुपातिक सांसद बनाउने रास्वपाले निर्णय गरेको छ।
बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले अडिओ प्रकरणका कारण श्रेष्ठलाई सांसदबाट हटाउँदै पार्टीको साधारण सदस्यबाटसमेत निकालेको छ। त्यसपछि उनको ठाउँमा समानुपातिक सांसदका लागि कंशाकारलाई सिफारिस गर्ने निर्णय गरेको हो।
कंशाकार एसिड आक्रमण पीडितसमेत हुन्। आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्नका लागि दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएको थियो। उक्त अडिओ सार्वजनिक भएपछि रास्वपाले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो।
अनुशासन आयोगले उक्त प्रकरणमा अनुसन्धान गर्दै श्रेष्ठलाई दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो।
मकवानपुर घर भएकी कंशाकारलाई पहिलो पटक सांसद बनाउने निर्णय गरेको हो। वरीयताक्रममा रहेका अर्का व्यक्तिलाई छोडेर उनलाई पठाउने निर्णय गरेको हो। कंशाकारलाई रास्वपाले २ महिनाअघि केन्द्रीय सदस्य मनोनित गरेको थियो।
उनीमाथि १० वर्षअघि एसिड आक्रमण भएको थियो। घरमै बसिरहेको समयमा उनलाई भारतीय नागरिकले एसिड आक्रमण गरेका थिए। प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै उनलाई एसिड आक्रमण गरिएको थियो। उक्त मुद्दामा अदालतले एसिड हान्ने भारतीय नागरिकलाई दोषी ठहर गर्दै सजाय पनि सुनाइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।