काठमाडौं– नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट संसद विघटन हुँदैछ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्।
बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेबाट संसद् विघटन हुँदैछ भनेर अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएका हुन्।
उनले अध्यक्ष नेपालको बोली शंकास्पद रहेको पनि बताए। उनले नेपाल दुरुस्त भएर बोलेको जस्तो नलागेको भन्दै होसमा हुनुहुन्छ कि हुनुहुन्न भनेर प्रश्नसमेत गरे। सचिव भट्टराईले एमाले प्रतिपक्षमा भएको भन्दै प्रतिपक्षमा भएको पार्टीले कसरी संसद विघटन गर्छ भनेर पनि प्रश्न गरे।
उनले भने, ‘पूर्वप्रधानमन्त्री माधव नेपालले एमालेबाट संसद् विघटन हुन लागेको छ खबरदार सबै सचेत हौं भन्नुभएछ। मैले बुझेको माधव नेपाल कुनै नचाहिँदो चिज त सेवन गर्नुहुन्न? मध्यपान, धुम्रपानबाट अलिकति टाढा रहेको भन्ने नै मैले बुझ्छु माधव नेपाललाई। तर आजको उहाँको बोली हेर्दा अलि शंकास्पद छ क्या। उहाँले आफू दुरुस्त भएर त्यो बोलेको जस्तो लाग्दैन। जुन पार्टी प्रतिपक्षमा छ। त्यो पार्टीले कसरी संसद् विघटन गर्छ? उहाँले के भन्दै हिँड्नुभएको छ? सपना देख्नुभएको छ कि? विपनामा हुनुहुन्छ कि? होसमा हुनुहुन्छ कि? हुनुहुन्न कि? उहाँजत्तिको १५ वर्ष एउटा ठूलो पार्टीको नेतृत्व गरेको मान्छेले, प्रधानमन्त्री भइसकेको मान्छेले, यति अनुभवि राजनीतिज्ञले त्यस्तो बोलेको देख्दा यो एक, डेढ वर्षमा उहाँ धेरै बदलिनु भएछ।’
उनले कांग्रेस सभापतिले भविष्यमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्नसक्ने कुरा अभिव्यक्त गरेकोमा कांग्रेस ब्युँझिएको टिप्पणी गरे। उनले कांग्रेस नेतृत्वमा सरकार बन्नु संवैधानिक अधिकार भए पनि कांग्रेसले सो अधिकारको प्रयोग गर्न नसकेको बताए। अहिले कांग्रेस आफ्नो हैसियतामा नरहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।