काठमाडौं- नेकपा एमालेका सांसद ठाकुर गैरेले केही समययता प्रधानमन्त्रीको भारत भ्रमणको चर्चा चलेको भन्दै निमन्त्रणा दिएका अन्य देशको भ्रमण रद्द गरेर भारत भ्रमण नै किन पर्खिएको भनेर प्रश्न उठेको बताएका छन्।
‘बोआओ सम्मेलन र अर्को छिमेकी देशको भ्रमणसमेत रद्द गरेर प्रधानमन्त्रीले भारत भ्रमणका निम्ति निमन्त्रणा पर्खिरहेका कुरा सुन्दाखेर यो भारतभक्ति किन प्रकट भइरहेको छ भन्ने प्रश्न उठेको छ’, बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै गैरेले भने, ‘अन्य देशको निमन्त्रणतालाई समेत थाती राखेर निमन्त्रणा नै नगर्ने देशको भ्रमण पर्खिएर बस्नुको औचित्य र आवश्यकता के हो?’
उनले भारत भ्रमणमा गएर के गर्न खोजिएको हो भनेर समेत प्रश्न गरे। उनको प्रश्न छ- ‘यसपटकको भारत भ्रमणका भारतीय सेना कालापानीबाट फिर्ता हुने सुनिश्चितता गरेर उहाँ जाँदै हुनुहुन्छ? कालापानी, लिम्पियाधुरा र लिपुलेकमाथि नेपालीहरुको हकभोगको सुनिश्चितता हुने कुराको ग्यारेन्टी भएको छ? वा प्रबुद्ध समुदायले बनाएको प्रतिवेदन आदानप्रदान हुने कुराको सुनिश्चितता भएको छ? वा हाम्रो भूमि सम्बन्धी समस्याहरु, सीमा क्षेत्रमा भएका समस्याहरुको सम्बोधन हुनेवाला छ?’
उनले नेपालमाथि भएका असमान सन्धिहरु र सीमा क्षेत्रमा भएको अतिक्रमणहरु अन्त्य नभएसम्म भारतको भ्रमण गर्न चाहँदैनौं भनेर नेपाल सरकारले दृढतापूर्वक आफ्ना अडानहरु कायम राख्न सक्नुपर्ने बेला भएन? भन्दै प्रश गरे। ‘हामी त्यो गर्न समर्थ छैनौं? वा हामी भक्तिभाव गर्नुपर्ने आवश्यकता किन छ? यो प्रश्न उठेको छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।