काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधानमा हस्ताक्षर नै नगर्ने पार्टीहरूसँग सहकार्य गर्ने दलहरूले एमालेले संविधान नै मानेन भन्नु लज्जाको विषय भएको बताएका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले संविधान नमान्ने पार्टीहरूसँग सहकार्य गर्ने दलहरूले एमालेले संविधान नै मानेन भन्दै आरोप लगाउनुको कुनै अर्थ नरहेको जिकिर गरे। महासचिव पोखरेलले सिंगो आन्दोलनलाई संविधानवादको जञ्जालभित्र राखेर व्याख्या गर्ने कामको कोशिस भइरहेको बताए।
उनले घोषित रुपमा संविधान नै नमान्ने पार्टीहरूसँगको सहकार्यले संसदीय मूल्य, मान्यतामाथि प्रहार गरिरहेको बताए। महासचिव पोखरेलले जनताको जनादेश खण्डित भएपछि फेरि जनतामा जानुपर्छ भन्ने लोकतन्त्रको विशेषता रहेपनि त्यसमाथि नै प्रहार भएको आरोप लगाए।
महासचिव पोखरेलले नेपालको राजनीतिमा मुख्य दलहरू भनेको नेकपा एमाले र नेपाली कांग्रेस मात्रै रहेको दाबी गरे। सम्पूर्ण वामपन्थी शक्ति भनेकै एमाले रहेको उनको दाबी छ।
उनले सत्तारुढ दलहरूले आफ्नो चाहनाका लागि मात्रै अदालतको प्रयोग गर्ने गरेको आरोप पनि लगाए। उनले राजनीतिक अस्थिरताका कारण नै नेपाल बन्न नसकेको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।