काठमाडौं- संघ र प्रदेशका मन्त्री र स्थानीय तहका प्रमुखहरूले अनुकुल कर्मचारी माग्ने कामले मन्त्रालयमा भीड बढेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले बताएका छन्।
संसद्मा सार्वजनिक महत्त्वका विषयमा आफ्ना कुरा राख्दै उनले सबैले अनुकुल कर्मचारी खोज्दा आफूलाई हैरानी बढेको उनले बताएका हुन्।
उनले भने, ‘मन्त्री साथीहरू, मेयर, उपमेयर र सांसदहरू सबैले आफू अनुकुलको कर्मचारी खोज्नुहुन्छ। सबै अनुकुल पठाउन भन्नुहुन्छ। त्यसरी कर्मचारी खटाउँदा जम्मा २ हजार मात्रै खटाउन सकिन्छ। ५३ हजार संघमा छन्। ५१ हजार कर्मचारी कहाँ पठाउने?’
उनले मेयर आएर एउटा कर्मचारीको नाम लिने र फेरि उपमेयर आएर अर्कै माग्ने समेत गरेको उल्लेख गरे। त्यसैमाथि प्रदेश र प्रतिनिधि सभा सांसदहरूले समेत स्थानीय सरकारमा पठाइने कर्मचारीबारे चासो लिएर मन्त्रालय पुग्ने गरेको बताए।
उनले थपे, ‘प्रदेशमा एउटा, प्रतिनिधि सभामा एउटा र मेयर र उपमेयरमा अर्कै पार्टीकोले जितेको हुन्छ। एउटाले भन्छ- यस्तो कार्यकारी चाहियो, लैजानुहोस् भनेर खाली भएको साथीलाई पठायो। अर्को आउँछ, त्यहाँको प्रतिनिधि सभा सांसद म हो र उपमेयर म हो, मैले भनेको हुनुपर्छ भन्छ।’
आफूले मन्त्रालय सम्हाल्दा ७ सय ५३ स्थानीय तहमा २४१ ठाउँमा कार्यकारी अधिकृतविहीन रहेको बताए। त्यहाँ निमित्तले चलाइरहेको बताउँदै अहिले थप ६० वटामा कार्यकारी अधिकृत पठाएको मन्त्री मोदीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।