काठमाडौं– ५० जना व्यक्तिलाई ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ठगी आरोपमा सुनसरीको धरान उपमहानगरपालिका–१७ कि ३५ वर्षीया जुनुकला राईलाई पक्राउ गरेको हो।
राईबाट पीडित भएको भन्दै परिसरमा १४ जनाले लिखित र ३६ जनाले मौखिक जाहेरी दिएका थिए। राईले काठमाडौं चाबहिलस्थित गंगाहिटीमा भिजन ड्रिमरी प्रालि अफिस खोलेर ठगी धन्दा चलाएको प्रहरीले जनाएको छ।
उनले ५० जना युवायुवतीलाई विदेश भ्रमणमा पठाउने भन्दै ११ हजार ३ सय देखि ५ लाख रुपैयाँसम्म लिएर ठगी गरेको पाइएको छ। यसरी उनले ५० जना व्यक्तिबाट ५० लाख भन्दा बढी रकम ठगी गरेको परिसरका एसपी तथा प्रवक्ता सिताराम रिजालले जानकारी दिए।
उनले विभिन्न नेपाली सामानहरू उत्पादन तथा बिक्री वितरण गर्ने भनेर स्वीकृति लिएर कम्पनी खोलेको र युवायुवतीलाई वैदेशिक भ्रमण तथा राम्रो ब्याजमा दिने भन्दै रकम लिएर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।
५ लाख रुपैयाँ तिरेर उक्त कम्पनीको सदस्यता समेत लिन लगाउने र ४ जना सदस्य बनाउन सकेमा लगानी रकम फिर्ता हुने तर, सदस्य बनाउन नसकेको अवस्थामा कम्पनीबाट उत्पादन भएका बिना गुणस्तरका सामग्रीहरू महँगो मूल्यमा दिएर रकम चुक्ता गराउने गरेको पाइएको प्रहरीले जनाएको छ।
यसरी उनले नेटवर्किङ शैलीमा ठगी गरेको खुलेको छ। पक्राउ परेकी राईविरुद्ध ठगी सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।