काठमाडौं– मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनको नतिजाविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ। बुधबार संवैधानिक इजलासमा १३ थान यस्ता मुद्दा पेसी चढेका छन्। एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनालदेखि नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको क्षेत्रमा पुन:निर्वाचन गर्न माग गरिएको निवेदनमा सुनुवाइ हुन लागेको हो।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा पेसी रहेको छ। संवैधानिक इजलासमा यी मुद्दा गत मंसिर ४ को निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै दायर भएका थिए।
खनालले इलाम–१ मा एमालेका उम्मेदवारसँग पराजित भएपछि मंसिर २७ गते सर्वोच्चमा निवेदन दायर गर्दै निर्वाचनमा धाँधली भएकाले पुन:निर्वाचन हुनुपर्ने माग गरेका थिए। एमाले महेश बस्नेतले २४ हजार ३ सय ४ मत ल्याउँदै जित हात पारेका थिए भने खनालले २१ हजार ८ सय २ मत ल्याएका थिए।
त्यस्तै, अर्को चर्चित मुद्दा हो रुपन्देही–२ मा एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध दायर भएको निवेदन। राष्टिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले उक्त क्षेत्रमा पुन:निर्वाचन हुनुपर्ने माग गर्दै सर्वोच्चमा मंसिर २० गते निवेदन दिएका थिए। उक्त क्षेत्रमा पौडेलले २७ हजार १ सय ४८ मत ल्याउँदै जित हात पारेका थिए भने रास्वपाका पौडेलले २५ हजार ७ सय ८२ मत पाएका थिए।
त्यस्तै, बाजुरामा पराजित भएका एमाले उम्मेदवार कर्णबहादुर थापाले पनि नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेविरुद्ध मुद्दा दायर गरेका थिए। उनले उक्त क्षेत्रमा पुन:निर्वाचन हुनुपर्ने भन्दै पुस ९ गते सर्वोच्चमा निवेदन दिएका थिए।
एक मात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा नेपाली कांग्रेसले बुथ कब्जा गरेको र फर्जि मत हालेर जितेको आरोप लगाउँदै थापाले पुन:निर्वाचन हुनुपर्ने जिकिर गरेका छन्। उक्त क्षेत्रमा कांग्रेसका पाण्डेले ३१ हजार ७ सय ८६ मत ल्याउँदै जित हात पारेका थिए भने थापा २६ हजार ३ सय ४९ मत ल्याउँदै पराजित भएका थिए।
यसैगरी, महेन्द्र यादव, सुरेन्द्र चौधरी, उमाशंकर अरगरियालगायतले पनि रिट दायर गरेका थिए। यी सबै रिटमा यसअघि कारण देखाऊ आदेश जारी भएको छ। अब दोस्रो सुनुवाइ हुन लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।