काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धनका उम्मेदवारले जित्नुपर्ने बताएका छन्। बुधबार तनहुँ पुगेका सिंहले नेपाली कांग्रेस बन्दीपुर गाउँ कार्यसमिति- ४ द्वारा आयोजित सभालाई सम्बोधन गर्दै गठबन्धनका साझा उम्मेद्वारले नजिते नराम्रो सन्देश जाने दाबी गरे।
उनले जनताको सुख-दुःखमा सँगै हुने उम्मेदवार जनताले निर्वाचित गर्नुपर्नेमा जोड दिए। ‘भाषण गर्ने तर गाउँ-ठाउँ नबुझेको व्यक्ति अहिले जनताले चाहेका छैनन्। वैशाख १० गते हुने उपनिर्वाचनमा पक्कै पनि जनताले मूल्याङ्कन गर्नेछन्,’ नेता सिंहले भने। चुनावमा एकढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेको उनले बताए।
‘गठबन्धन गरेर हामी चुनावमा गएका छौँ। गठबन्धनकै उम्मेदवारले नजिते नराम्रो सन्देश जान्छ,’ उनले भने । वर्तमान सरकार विकास र समृद्धिका लागि प्रतिबद्ध रहेको उनको दाबी थियो।
कांग्रेसले सरकार बनाउँदा होस् वा राज्यको प्रमुख तहमा तनहुँलाई स्थान दिएको स्मरण गराउँदै सिंहले भने, ‘गोविन्द भट्टराईलाई अत्यधिक मतले विजयी गराउनुस्। मन्त्रिपरिषद् विस्तार हुँदा उहाँ मन्त्री नबन्नुहोला भन्ने के छ र?’ उनले अहिले मैदानमा रहेका उमेदवारमध्ये भट्टराई उत्कृष्ट रहेकाले भ्रममा नपर्न पनि आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।