काठमाडौं– ज्याला माग्दा बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने ठेकेदार आनन्द मिश्रलाई प्रहरीले पक्राउ गरेको छ। अमानवीय व्यवहारको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान समेत अघि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता दिलिपकुमार गिरीले बताए।
मिश्रले ज्याला माग्दा महोत्तरीको लोहारपट्टी नगरपालिका–६ का २१ वर्षीय मोबारक नदाफलाई पोलमा बाँधेर कालोमोसो दलेका थिए।
यो घटना यही चैत २३ गतेको हो। पोलमा बाँधेर कालोमोसो दलेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले ३४ वर्षीय ठेकेदारलाई पक्राउ गरेको हो।
भिडिओ सार्वजनिक भएपछि नदाफका हजुरबुवा गफुरले सोमबार प्रहरीमा जाहेरी दिएका थिए। त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।
लोहारपट्टी चोकमा बन्दै गरेको शिव आश्रम निर्माणको ठेक्का लिएका मिश्रले नदाफलाई काममा लगाएका थिए। तर काम गरेको ज्याला नपाएपछि उनले फलाम काट्ने मेसिन पंखा लिएर गएका थिए। सामान लिएर गएपछि ठेकेदारले नदाफलाई बोलाएर बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने र कपाल मुन्डन समेत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।