नयाँ दिल्ली (एजेन्सी) - 'बाहुबली' फिल्मबाट देश-विदेशमा आफ्नो पहिचान बनाएका दक्षिण भारतीय फिल्मका सुपरस्टार प्रभास कुनै समय क्यामराको अगाडि पर्दा लजाउँथे भन्दा अचम्म लाग्न सक्छ । यतिसम्म कि, फिल्म क्षेत्रमा आउने त उनको सोच नै थिएन।
उनी हस्पिटालिटी क्षेत्रमा आफ्नो करिअर बनाउने योजनामा थिए । तर, समय क्रममा उनी फिल्म उद्योगसँग जोडिए र 'बाहुबली' फिल्मबाट आज विश्वव्यापी रुपमा लोकप्रिय भएका छन् । प्रभासका अनुसार, उनी अहिले पनि सार्वजनिक कार्यक्रमहरुमा जाँदा निकै सजग हुन्छन् र स्टारडम जोगाउने कला सिकिरहेका छन्।
एक अन्तर्वार्तामा उनले भनेका छन्, 'म अहिले पनि मान्छेहरुसँग सार्वजनिक समारोहमा कुराकानी गर्न लजाउँछु । म चाहन्छु, सबै जना आएर मेरो फिल्म हेरुन्, तर मान्छेहरुको सामना गर्नु नपरोस्।'
फिल्म क्षेत्रमा १४ वर्ष गुजारिसकेको उल्लेख गर्दै उनले अगाडि भनेका छन्, 'मलाई अहिले पनि स्टारडम कसरी सम्हाल्ने भनेर थाहा छैन । म सार्वजनिक रुपमा नआउँदा मेरा प्रशंसकहरुलाई पक्कै पनि दुःख लाग्दो हो । तर, म पहिलेभन्दा राम्रो बन्ने कोसिस गरिरहेको छु।'

प्रभासका पिता फिल्म निर्माता अप्पलपति सूर्यनारायण राजु र काका कृष्णम राजुले तेलुगू फिल्ममा ख्याति कमाएका छन् । तर, उनी पारिवारिक नाताका कारण फिल्म क्षेत्रमा आएका होइनन्।
उनले भने, 'मेरो काका अभिनेता र बुवा निर्माता हुनुहुन्छ । यसै कारण उहाँहरुले मलाई फिल्ममा रुचि छ कि भनेर सोध्नुभएको थियो । तर, मैले यति धेरै मान्छेको अगाडि कसरी अभिनय गर्न सकिन्छ र भनेर हिचकिचाएँ । म लजालु छु । मेरो बुवा-आमाले दुई-तीन चोटि फिल्ममा खेल्न सोध्नुभएको थियो, तर मैले हरेक पटक अस्वीकृति जनाएँ।'
प्रभासले कुनै बिजनेस गर्ने सोचेका रहेछन् । उनले अगाडि बताएका छन्, 'बिजनेस गर्न चाहनुको कारण म अल्छे छु, जागिर खान सक्दिनँ । मैले होटल सञ्चालन गर्ने सोचेको थिएँ, किनकि हाम्रो परिवारलाई खानाको सोख छ र हैदराबादमा नर्थ इन्डियन खाना निकै लोकप्रिय छ।'
प्रभास भन्छन्, 'मलाई थाहा छैन, के भयो । एकदिन म काकाले अभिनय गरेको फिल्म हेरिरहेको थिएँ । म कल्पना गर्न थालेँ, म काकाको भूमिकामा छु । पहिले फिल्मप्रति मोह नभए पनि समयसँगै मेरो मन बिस्तारै बदलिँदै गयो ।'
प्रभासले सन् २००२ मा बनेको तेलुगू फिल्म 'ईश्वर' बाट यस क्षेत्रमा डेब्यु गरेका थिए । उनले भने, 'एकदिन मैले आफ्नो साथीसँग म अभिनय गर्न चाहन्छु भनेर सुनाउँदा उसलाई विश्वास भएन । दस दिनपछि उसले मेरो कुरामा विश्वास गर्योो, आज त्यो साथी अहिले म काम गरिरहेको साहो फिल्मका निर्माता हो ।'
'साहो'मा प्रभासको अपोजिटमा श्रद्धा कपुरले अभिनय गरेकी छन् । यो श्रद्धाको पहिलो तेलुगू फिल्म हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।