काठमाडौं– सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको विधान संशोधनका लागि पाँच सदस्यीय कार्यदल बनाएको छ।
मंगलबार सिंहदरबारमा बसेको दलको बैठकले संसदीय दलको विधान संशोधनका लागि प्रमुख सचेतक हितराज पाण्डको संयोजकत्वमा प्रतिनिधि सभाका सांसदहरू पूर्ण घर्ती र विमला सुवेदी तथा राष्ट्रिय सभाका सांसदहरू जगप्रसाद शर्मा र गंगा बेलवासे सदस्य रहेको कार्यदल गठन गरेको हो।
अहिलेको समग्र परिस्थितिलाई हेरेर पार्टी संसदीय दलको विधान संशोधनका लागि सो कार्यदल बनाउने निर्णय गरिएको प्रमुख सचेतक पाण्डेले बताए।
कार्यदललाई एक महिनाभित्र पार्टी संसदीय दलको विधान संशोधनका लागि आवश्यक सुझावसहितको प्रतिवेदन दलको बैठकमा पेस गर्ने कार्यादेश पनि दिइएको छ।
त्यसैगरी, बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक छिटो संसद्मा पारित गराउन माग गर्ने निर्णय पनि गरेको छ।
संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक र संवैधानिक परिषद् सम्बन्धी विधेयक तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक पनि छिटो पारित गर्नका लागि सदनमा माग गर्ने निर्णय गरिएको प्रमुख सचेतक पाण्डेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।