कुश्मा– पर्वतको महाशिला गाउँपालिकामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। सोमबार राति भएको दुर्घटनामा अर्का १ व्यक्ति घाइते भएका छन्।
सदरमुकाम कुश्मा बजारबाट महाशिलातर्फ जाँदै गरेको ग२च ६९० नम्बरको जिप महाशिला–५ काहुलेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ।
दुर्घटनामा जिपका चालक महाशिला–४ धनुवासका ३७ वर्षीय ख्यामबहादुर विकको ज्यान गएको हो। दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका लागि गण्डकी अस्पताल पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रकाश राउतले जानकारी दिए।
दुर्घटनामा घाइतेको लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। उनको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।