काठमाडौं– समिट अपार्टमेन्ट निर्माणको क्रममा घर भासिएका पीडित, ललितपुर महानगर, ग्रिनविच होटेल र समिट अपार्टमेन्टबीच आइतबार १२ बुँदे सहमति भएको छ।
शुक्रबार राति उक्त अपार्टमेन्ट वरपरका घर भासिएपछि स्थानीयको भागा–भाग भएको थियो। ललितपुरको बखुन्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा वरपरका घर भासिएपछि स्थानीय समस्या त्रसित भएका थिए। उक्त निर्माणधीन अपार्टमेन्ट वरपरका घरहरू भासिएका छन्। अपार्टमेन्ट आसपासको खाली जग्गासमेत भासिएको छ।
अपार्टमेन्टका व्यवस्थापक निर्माण चौधरीसहित चारजनाले प्रभावितलाई तत्काल बसोवासको व्यवस्थापन गर्न र ग्रिनविच होटेलसमेत भासिएकोले त्यहाँ काम गर्नेलाई खानबस्नको व्यवस्था गर्न सहमति भएको छ।
यस्तै, रोडको आकस्मिक सहजीकरण कोष खडा गर्ने, घर चर्केका तथा भत्केकाहरूको मर्मत, निर्माण अपार्टमेन्ट व्यवस्थापन गर्ने र तत्काल अपार्टमेन्टले बाँकी निर्माणको काम नगर्ने सहमति भएको छ।
साविकको समिट होटललाई भत्काएर २० रोपनी क्षेत्रफलमा ‘द समिट होटल एण्ड रेसिडेन्स’ बनाउन गत भदौमा काम सुरु भएको थियो। नक्सापासको अनुमति नै नलिइ काम सुरु भएको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।