काठमाडौं- नेकपा एमालेका नेता नरेश खरेलले एमाले त्याग गरेका छन्। झापा आन्दोलनको पृष्ठभूमि भएका र १७ वर्ष जेल बसेका नेता खरेलले सोमबार एमाले त्यागेका हुन्। उनीसँगै त्यस क्षेत्रका अन्य केही नेता तथा कार्यकर्ताले पनि एमाले त्यागेका छन्।
एमाले र माओवादी केन्द्रबीचको एकतापछि जनता र कार्यकर्तामा खुसीयाली छाएको र मुलुकले स्थिरता प्राप्त गर्ला, देशमा भएको राजनीतिक परिवर्तन अनुरुप आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण होला भन्ने आफूहरुले आशा लिएको उनीहरुद्वारा जारी वक्तव्यमा भनिएको छ।
‘तर आम नेपाली जनता र इमानदार कार्यकर्ताको आशा विपरीत पार्टी नेतृत्वमा देखापरेको गुटबन्दी, दम्भ र अहंकार तथा अन्तरद्वन्द्वले, संसद् विघटन हुँदै पार्टी तीन टुक्रामा विभाजित हुन पुग्यो’, वक्तव्यमा भनिएको छ।
पार्टी नेतृत्व आफ्ना गल्ती कमजोरी सुधार गर्दै पार्टीलाई एकताबद्ध पार्नुको सट्टा अझ निरंकुश बन्ने र फरकमत राख्ने नेता कार्यकर्तामाथि अपमान गर्ने काममा तल्लिन रहेको उनीहरुको आरोप छ।
‘पार्टीमा इमानदार नेता कार्यकर्तालाई पाखा लगाउने र दक्षिणपन्थी र यथास्थितिवादी शक्ति र व्यक्तिसँगको साठगाठ अझ दरिलो बन्दैछ। यस्ता गतिविधिहरु टुलुटुलु रमिता हेर्न हामीले उचित ठानेनौं। त्यसैले नेकपा एमालेमा लामो समयसम्म योगदान गरेका तर पार्टीका गलत क्रियाकलापसँग असहमत रहेका हामी नेता कार्यकर्ताहरु आजदेखि सो पार्टीबाट स्वतन्त्र रहने घोषणा गर्दछौं’, वक्तव्यमा भनिएको छ।
नेपालको कम्युनिस्ट आन्दोलनका उपलब्धि र कमजोरीहरुको सही ढंगले मूल्यांकन गर्दै आ-आफ्ना गल्ती कमजोरीहरुप्रति आत्मालोचित हुँदै अघि बढ्न सके वामआन्दोलनलाई नयाँ धरातलबाट उठाउन सकिने उनीहरुको ठहर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।