काठमाडौं– नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई काठमाडौं महानगरपालिकासँग तत्काल संवाद गर्न आग्रह गरेका छन्।
सोमबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थापाले काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा महानगरपालिकासँग तत्काल संवाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।
दुई तहका सरकारका बीचमा तत्काल सल्ट्याउनुपर्ने विषयहरूलाई सल्ट्याइहाल्न पनि उनको आग्रह छ। उनले महानगरपालिकाले राखेका जायज मागहरूलाई पूरा गर्न आवश्यक विषयहरूमा समझदारी कायम गर्न माग गरे।
सांसद थापाले काठमाडौं महानगरपालिका र संघीय सरकारबीचको छलफलमा काठमाडौंका जनप्रतिनिधिहरूलाई पनि सम्मिलिन गराउनुपर्ने बताए।
उनले देशका विभिन्न पालिका प्रमुखहरूको सिंहदरबारमा कर्मचारी माग गर्न र सरुवा लगायतका कामहरू लिएर घुइँचो लागेको भन्दै पालिका प्रमुखहरूलाई सिंहदरबार घुम्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।