काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि भन्दै रकमको बार्गेनिङ गरेको अडियो सार्वजनिक प्रकरणमा माफी मागेको छ।
रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले स्वाथ्यमन्त्री बन्नका लागि भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो।
सोमबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सो प्रकरणको सम्बन्धमा पार्टीको तर्फबाट माफी मागेका हुन्।
उनले सो प्रकरणले प्रतिनिधि सभा सदस्यहरूको सम्मानमा चोट परेको भन्दै माफी मागे। उनले छानबिनका लागि समिति बनेको र आवश्यक कारबाही गरिने भन्दै सो घटनाले पार्टीलाई विचलित नबनाउने बताए।
उनले सो प्रकरणले संसद्को गरिमामा समेत मानमर्दन भएको भन्दै माफी मागे। प्रमुख सचेतक परियारले राष्ट्रिय स्वतन्त्र पार्टी सुशासन र भ्रष्टाचारविरुद्धको अभियानलाई आफ्नो प्रमुख अभियान ठान्ने पनि स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।