काठमाडौं– नेकपा एमालेका सचेतक महेश बर्तौलाले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सत्ता पक्षको एकांकी विषय नभएको दाबी गरेका छन्।
सोमबार प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सचेतक बर्तौलाले यस्तो बताएका हुन्। उनले सत्ता पक्षले फास्ट ट्रयाकबाट नै संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गर्नुपर्ने अडान राखिरहेको भन्दै त्यसो हुन नसक्ने स्पष्ट पारे।
विषयगत समितिमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयक लैजानैपर्ने र त्यो प्रक्रिया लामो भए विशेष समिति बनाएर मात्रै विधेयक पारित गर्नुपर्ने तर्क गरे। उनले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक छिटो टुंगिनुपर्छ भन्ने कुरामा एमाले पनि सहमत भएको तर, राष्ट्रिय विषय भएकाले प्रक्रिया पूरा गरेर मात्रै विधेयक टुंग्याइनुपर्ने बताए।
नेपाल अन्तर्राष्ट्रिय मानव अधिकार पक्ष भएर हस्ताक्षर गरेका कयौं विषयहरूसँग सम्बन्धित भएकाले त्यो प्रतिकूल देशका ऐनहरू बन्नु नहुनेतर्फ सचेत हुनुपर्ने उनको तर्क छ।
उनले विधेयकमा पीडितहरूको भावना समेट्नुपर्ने, सत्यको राम्रोसँग अन्वेषण गरेर दोषीलाई कारबाही, पीडितहरूलाई परिपूरण राहत, क्षतिपूर्ति र न्याय दिन सक्नुपर्ने बताए।
‘टीआरसीको विषयमा उहाँहरूले फास्ट ट्रयाकबाट जाने कुरा आएको छ। प्रोसेसको कुरा गरिरहनुभएको छ। हामी प्रोसेस छिटो गर्ने कुरामा तयार छौं। तर, कन्टेनमा छलफल गरौं’, उनले भने, ‘कतिपय हिसाबले कन्टेनमा नै बहस गर्नुपर्ने कुरा छ। त्यसैले यो विषय राष्ट्रिय विषय हो। सत्ता पक्षको एकांकी विषय होइन। अन्य बिलहरू जसरी हामी संसद्को अल्पमत र बहुमतले बढ्छौं।’
उनले यो विधेयक फरक भएकाले छलफल हुनुपर्ने बताए। अन्तर्राष्ट्रिय माध्यमहरूले पनि हेरिरहेको विषय भएकाले अन्तर्राष्ट्रिय मानव अधिकार पक्ष भएर हस्ताक्षर गरेका कयौं विषयहरूमा ख्याल गर्नुपर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।