काठमाडौं– प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले विषयगत समितिलाई चाँडै टुंगो लगाउने निर्णय गरेको छ।
सोमबार संसद् भवनमा राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसहितको बैठकले अबको एक, दुई दिनभित्र नै विषयगत समितिहरूको टुंगो लगाउने सहमति भएको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेकपा एमालेका सचेतक महेश बर्तौलाले कार्य व्यवस्था परामर्श समितिको सोमबारको बैठकले प्रतिनिधि सभाको बैठकको कार्यसूचीको विषयमा छलफल गरेको बताए।
उनले नयाँ संसद्पछि हालसम्म २० वटा बैठक बसिसकेपनि विषयगत समिति बन्न नसकेकाले विषयगत समिति बनाउने विषयमा छलफल केन्द्रित भएको बताए। उनले सबै दलहरूलाई मंगलबार बेलुकासम्म विषयगत समितिका लागि सदस्यको नाम पठाउने विषयमा सहमति जुटेको पनि बताए।
उनले नेकपा एमालेले पनि मंगलबार बेलुकासम्म समितिका लागि सदस्यहरूको नाम पठाउने स्पष्ट पारे। उनले संयुक्त संसदीय समितिका लागि पनि छलफल भएको बताए।
सचेतक बर्तौलाले संसदीय सुनुवाइ समिति नहुँदा विभिन्न संवैधानिक परिषद्सम्बन्धीका विषय र प्रधानन्यायाधीश नियुक्ति टुंगो लाग्न नसकेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।