काठमाडौं- प्रहरीले थप एक तिब्बतियन नागरिकलाई नेपाली नागरिकताको प्रमाणापत्रसहित पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार बौद्धबाट २७ वर्षीय निमा ल्हामो गुरुङलाई पक्राउ गरेको हो।
उनलाई नागरिकता ऐन तथा लिखत सम्बन्धी कसूरमा आवाश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए।
पक्राउ परेकी निमा तिब्बतबाट भारतको बिहार दिल्ली हुँदै २ वर्षदेखि बौद्धको बुद्ध तुशाल क्याम्पमा बसोबास गर्ने गरेको खुलेको छ।
उनले क्याम्पमा बसोबास गर्ने व्यक्तिमार्फत् नेपाली नागरिक कृष्णबहादुर कटुवाललाई नागरिकता बनाउनका लागि सम्पर्क गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
कटुवालले निमा ल्हामो गुरुङको नेपाली नागरिकता बनाई दिएबापत ५ लाख रुपैयाँ लिएको पाइएको छ।
अपराध अनुसन्धान कार्यालयले यसअघि तिब्बतियनलाई नेपाली नागरिकता दिलाउने एउटा गिरोह नै पक्राउ गरेको थियो। नागरिकता नेक्ससका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।