काठमाडौं– वैदेशिक रोजगारका क्रममा मृत्यु भएका व्यक्तिका परिवारले पाउने बीमाबापतको रकम ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–१२ का ४१ वर्षीय रामबहादुर तामाङ, सर्लाहीको लालबन्दी–८ का ३४ वर्षीय विनोदकुमार लामा, सोही ठाउँका ४० वर्षीय डिबहादुर मल्ल, ३५ वर्षीय रविन भनिने रविन्द्र मोक्तान, ३५ वर्षीय प्रकाशबहादुर गोले र सर्लाही हरिवन नगरपालिका–२ का ३९ वर्षीय रुद्रमान गोले रहेका छन्।
उनीहरूले वैदेशिक रोजगारका क्रममा मृत्यु भएका तथा बिदामा आउँदाका बखत मृत्यु भएका व्यक्तिका परिवारले बीमाबापत पाउन रकम दिलाइनेदिने भनेर ठगी गर्ने गरेको प्रहरीले जनाएको छ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले बिहीबार गोंगबुबाट पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस, बीमा कम्पनीको लेटरप्याडसहित महत्त्वपूर्ण कागजात बरादम भएको प्रहरीले जनाएको छ।
उनीहरूलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।