एजेन्सी– बिहीबार जापानको दक्षिणपश्चिमी प्रान्त ओकिनावाको सामुद्रिक क्षेत्रबाट १० जना सवार जापानी हेलिकोप्टरको रेडारसँगको सम्पर्क विच्छेद् भएको छ। ग्राउन्ड सेल्फ डिफेन्स फोर्स (जीएसडीएफ) हेलिकोप्टरको रेडारसँगको सम्पर्क विच्छेद भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
सरकारी प्रसारक एनएचकेले रक्षा मन्त्रालय र अन्य स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘ओकिनावा प्रान्तको मियाकोजिमा टापूको विमानस्थलबाट करिब १८ किलोमिटर उत्तरपश्चिममा स्थानीय समयअनुसार अपराह्न ४:४० बजे युएच–६० बहुउद्देश्यीय हेलिकोप्टर रेडारको सम्पर्कबाट टाढिएको थियो।’
मियाकोजिमाबाट अपराह्न ४ बजेअघि उडेको उक्त हेलिकप्टर साँझ ५ बजेपछि टापुमा फर्कने कार्यक्रम रहेको एनएचकेले जनाएको छ। विमानमा दुई पाइलट, दुई मेकानिक्स र चालक दलका ६ सदस्य रहेको र उनीहरू सबै सेल्फ डिफेन्स फोर्सका सदस्य रहेको जीएसडीएफले जनाएको छ।
सामुद्रिक क्षेत्रमा खटिएका सुरक्षा गार्डले कुमामोतो प्रिफेक्चरको एक युनिटसँग सम्बन्धित र निगरानी गतिविधिमा संलग्न रहेको हेलिकप्टरको खोजीका लागि नजिकैको जल क्षेत्रमा चारवटा गस्ती जहाज पठाएको रिपोर्टमा उल्लेख छ। उक्त क्षेत्रमा स्थानीय समय अनुसार साँझ ६ बजेर १० मिनेट जाँदा जहाज पुगेको र उक्त विमान पुग्दा मौसमको अवस्था मध्यम रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।