बारा– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् र सिंगो देशलाई उपेन्द्र यादवको आवश्यकता रहेको बताएका छन्।
जसपा अध्यक्ष एवं बारा–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार यादवको निर्वाचन क्षेत्र पुगेर बिहीबार अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिको केन्द्रमा यादवको आवश्यकता अपरिहार्य रहेको औंल्याएका हुन्।
बारा–२ मा सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका जसपा अध्यक्ष यादवको पक्षमा माहोल बनाउन नेपाल बुधबार साँझ कलैया पुगेका थिए। बारा–२ को चुनावी मैदानमा रहेका यादवसँगको भेटमा नेपालले गठबन्धनको जित सुनिश्चित रहेको दाबी समेत गरेका छन्।
सिंगो देश र संसद्लाई उपेन्द्र यादवको खाँचो छ। त्यसैले राष्ट्रले खोजेको नेता उपेन्द्र यादवलाई अत्याधिक मत दिएर विजयी गराउन नेकपा एसको पार्टी पंक्ति एवं सिंगो बाराबासीलाई आग्रह गर्दछु’, उनले भने।
नेपालको राजनीतिक परिवर्तनका लागि महत्त्वपूर्ण मानिएको लोकतान्त्रिक गणतन्त्र स्थापनामा मधेश जनविद्रोहको उच्च स्थान रहेको भन्दै नेपालले मधेश विद्रोह, पहिचान, समावेशी र संघीयताजस्ता महत्त्वपूर्ण परिवर्तनका अजेन्डालाई संस्थागत गर्न देश र प्रदेशहरूको समयानुकूल विकास गर्न संसद्मा यादवको उपस्थिति अपरिहार्य रहेको जिकिर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।