काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध दर्ता गरिएका उजुरीमध्ये ३ वटा खारेज भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले उनी विरुद्धका चारमध्ये ३ वटा उजुरी खारेज गरेको छ भने एउटालाई निर्वाचन आयोगमा पठाएको छ।
१० वैशाखमा हुन गइरहेको चितवन-२ को उपनिर्वाचनमा उम्मेदवार भएका लामिछानेको उम्मेदवारी अवैधानिक भएको भन्दै उजुरी दर्ता भएको थियो। उजुरी खारेज भएसँगै लामिछानेको उम्मेदवारी कायम भएको छ।
लामिछानेको उम्मेदवारी विरुद्ध इमेलबाट उजुरी गरेका युवराज पौडेल ‘सफल’को उजुरीमाथि निर्णय गर्न भने आयोगको केन्द्रीय कार्यालयमा पठाइएको चितवनका मुख्य निर्वाचन अधिकृत वासुदेव शर्माले बताए। अन्य प्रतिस्पर्धीका प्रतिनिधिहरुले दिएको उजुरीमा भने दाबी नपुग्ने भन्दै खारेज गरिएको हो।
लामिछाने विरुद्ध राष्ट्रिय जनमोर्चा र दुई स्वतन्त्र उम्मेदवारले उजुरी दिएका थिए। लामिछानेको उपनिर्वाचनमा उम्मेदवार हुन योग्यता नपुग्ने दाबी गरिएको थियो।
संविधानको धारा २९१ अनुसार उनले नेपाली नागरिकता प्राप्त गरेको ३ महिना हुनुपर्ने भएकाले अयोग्य हुने दाबी गरेका थिए। संविधानमा विदेशी नागरिकता त्यागेको ३ महिना भनेकाले लामिछानेको हकमा उक्त दाबी नपुगेको निर्वाचन कार्यालयको जिकिर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।