काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अनावश्यक खर्चलाई कटौति गर्नका लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको संख्या खटाउन आग्रह गरेका छन्।
बुधबार नेपाल वित्तिय संस्था कर्मचारी संघको राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले देशको आर्थिक अवस्था संकटग्रस्त रहेकाले राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको संख्या घटाउन आग्रह गरेका हुन्।
उनले राष्ट्रपति र प्रधानमन्त्रीदेखि विभिन्न निकायका पदाधिकारीहरू सबैले अत्यावश्यक बाहेकको खर्चलाई कटौति गर्नुपर्ने बताए। सरकार खर्चमा मितव्ययी हुनुपर्ने उनको भनाइ छ। महामन्त्री थापाले विकासको क्षेत्रमा हुने खर्च र पुँजिगत खर्चमा भने अझ सुधार गर्नुपर्ने बताए। यसो गर्न सकेमा देशको आर्थिक अवस्थामा सुधार आउने उनले बताए।
उनले देशको आर्थिक संकट समाधान गर्नका लागि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सँग पनि सम्वाद गर्नुपर्ने बताए। स्थानीय सरकारमा एमाले पनि रहेको उल्लेख गर्दै उनले एमालेसँगको सम्वाद र सहकार्य आवश्यक रहेको बताए।
त्यस्तै, सरकार र नेपाल राष्ट्र बैंककाबीचमा पनि विश्वसनीय सम्बन्ध हुनुपर्ने उनले बताए। महामन्त्री थापाले राष्ट्र बैंक र सरकारको दृष्टिकोणमा पनि समानता ल्याउनुपर्ने बताए।
महामन्त्री थापाले सरकार दौडिनुपर्ने अवस्था भएपनि तुना बाँध्नमै अल्मल्लिएको टिप्पणी गरे। उनले सरकार अल्मल्लिएको भन्दै दौडिन सुरु गर्नुपर्नेमा जोड दिए। आगामी ५/६ महिनामा सरकारले नागरिकहरूलाई सरकारले काम गर्न सुरु गर्यो र लक्ष्यमा पुग्छ भन्ने भरोसा दिलाउन सक्नुपर्ने बताए।
‘अब यो सरकारसँग छुट छैन। हामीले त प्रधानमन्त्रीलाई के भनेका छौँ भने तपाईं त अब हिँडेर कहीँ पुग्छु भन्ने सोच्दै नसोच्नुस्। हिँडेर पुग्ने सुविधै छैन हामीसँग। हाम्रो सरकारसँग अब हिँडेर होइन दौडेर मात्र पुग्नसक्ने अवस्था छ’, थापाले भने, ‘तर, सरकार दौदिन सुरु नै गरेन। अझैपनि तुना बाँधेको जस्तो छ। कहिले तुना बाँधेर बस्छ। कहिले कुर्सी खोज्छ। अल्मल्लिएको जस्तो भयो। यसले दौडिन सुरु गर्नुपर्यो।’
महामन्त्री थापाले प्रधानमन्त्री र मन्त्रीहरूलाई ३ महिनासम्म अनलाइन र टेलिभिजनमा अनुहार नदेखाई काम गरेर देखाउन आग्रह समेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।