काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालसँग विकासको लागि फड्को मार्ने अवसर अब १५ वर्ष बाँकी रहेको भन्दै व्यवस्था उल्ट्याउन लागियो भने त्यो अवसर गुम्ने बताएका छन्।
बुधबार नेपाल वित्तीय संस्था कर्मचारी संघको कार्यक्रममा सम्बोधन गर्दै उनले आफूले राजनीतिक पक्षमा नगइकन सोच्दा पनि व्यवस्था उल्ट्याइयो भने अवसर गुमाउने र त्यो कहिल्यै प्राप्त नहुने बताएका हुन्।
‘कहिलेकाहीँ केही साथीहरू यो व्यवस्था काम लागेन भन्नुहुन्छ। यो व्यवस्था उल्ट्याउनुपर्यो भन्नुहुन्छ। म त्यसको राजनीतिक पक्षमा नगइकन पनि सोच्छु, यो व्यवस्थाले काम गरेन। अहिले हामीसँग संवैधानिक प्रबन्धले काम गरेन। यसलाई बदल्नुपर्छ भन्नेतिर लाग्यौं भने नेपालको अर्को पाँच दश वर्ष गयो’, उनले भने, ‘हामीसँग जम्मा १५ वर्ष बाँकी छ। अनि पाँच/दश वर्ष यसमा गयो भने नेपालले गुमायो। जुन कुरा कहीँ प्राप्त हुँदैन।’
थापाले २२ देखि २३ वर्ष आजको दिनमा नेपालीहरूको मध्यम उमेर भएको र काम गर्ने उमेर समूहको संख्या ठूलो भएको बताए। ‘तर, यो अवस्थामा हामीसँग अरु १५/१६ वर्ष मात्रै रहन्छ। त्यसपछि हामीलाई बुढ्यौली लाग्छ। तीस वर्षमा हामी बुढो भइसकेका हुन्छौँ।’
यही बीचमा विकासमा फड्को मार्ने गरी काम गर्नुपर्ने थापाको सन्देश थियो।
‘केही साथीहरू यो पटक गयो गयो, पाँच वर्षपछि चुनाव आउँछ, त्यो चुनावमा देखाइदिने हो भनेर भन्नुहुन्छ। पाँच वर्षपछि देखाउनेले देखाए भयो। तर, पाँच वर्षचाहिँ के गर्ने? हेरेको हेर्यै बस्ने? भर्खर सुरु भएको छ। यो पाँच वर्ष हेरौँ न अब’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।