काठमाडौं– अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको र अदालत पेस गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
उनीमाथि ३४ आरोप लगाइएको छ। आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन्। अदालतमा उनले आफूमाथि लागेका आरोप अस्वीकार गरेका छन्। म्यानहटन अदालतमा आफूले कुनै अपराध नगरेको जिकीर ट्रम्पले गरेको बीबीसीले जनाएको छ।
मंगलबार उनले अदालतमा बयान दिँदै आफ्नो बचाउ गरे। ट्रम्पमाथि २०१६ मा राष्ट्रपति निर्वाचनको समयमा एक पोर्नस्टार(नगरबधु)लाई पैसा दिएको र उक्त रकम सरकारी कोषबाट भुक्तानी गरेको अपराधिक मामलाको आरोप लागेको हो।
ट्रम्प आफैं अदालत उपस्थित हुने तयारी गरेपछि प्रहरीले औपचारिक रुपमा पक्राउ गर्दै हिरासतमा राखेको थियो। अदालतले अर्को वर्ष ट्रम्पको ट्रायल सुरु गर्न सकिने बताएको छ। ८ जुनसम्म बचाउका लागि आफ्नो जिकिर कोर्टमा पेस गर्न ट्रम्पलाई समय दिइएको छ।
पेसीपछि ट्रम्पले आफ्नो निवास फ्लोरिडामा पत्रकार सम्मेलन गरे। उनले उक्त पत्रकार सम्मेलनमा आफू निर्दोष रहेको र आफूविरुद्ध कुनै प्रमाण नभएको दोहोर्याएका छन्।
उनले देश नालीतर्फ गइरहेको टिप्पणी गरे। उनले विगतमा पनि कयौं कारण आफूमाथि हासोको पात्रो बनाइएको भन्दै यसले आफूलाई केही नलागेको बताए। उनले भने, ‘मैले एउटा मात्र अपराध गरेको हुँ। त्यो हो देशलाई निडर भएर ती व्यक्तिहरुसँग बचाउनु, जसले बर्बाद पार्न चाहेका थिए।’
डोनाल्ड ट्रम्पमाथि उनका कानुन व्यवसायी माइकल कोहेनले ट्रम्पका साथ कथित सम्बन्ध राखेको कुरा गोप्य राख्न पोर्नस्टारलाई नियमको उल्लंघन गर्दै निर्वाचन प्रचारको अघि रकम दिइएको आरोप छ। राष्ट्रपति निर्वाचनको प्रचारको दौरानमा २०१६ मा एक लाख ३० हजार डलर ट्रम्पका कानुन व्यवसायीले पोर्नस्टारलाई भुक्तानी गरेका थिए।
उक्त रकम उनले सरकारी कोषबाट कानुन व्यवसायीको फीको रुपमा भुक्तानी गरेका थिए। ट्रम्प अपराधिक मामलामा मुद्दा खेप्ने पहिलो अमेरिकी राष्ट्रपति हुन्। उनले यसअघि महाभियोगको पनि अभियोग खेपेका थिए। महाभियोग तल्लो सिनेटले पारित गरेपछि माथिल्लो सदनबाट पारित नभएपछि असफल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।