काठमाडौं– रवि लामिछानेविरुद्धको मुद्दामा आज (बुधबार) पेसी रहेको छ। यसअघि मंगलबार पेशीमा रहेको सो मुद्दा हेर्न नमिल्ने भन्दै सरेको थियो।
मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेसी परेको थियो। तर, उक्त मुद्दा हेर्न नमिल्ने हुँदै सरेको हो। यसअघिको नागरिकता विवाद सम्बन्धी मुद्दामा समेत सिन्हासहितको संवैधानिक इजलासले फैसला गरेकाले उक्त मुद्दा आफूले हेर्न नमिल्ने निर्णय सिन्हाले गरेका थिए।
रविको विवादमा आफ्नो धारणा संवैधानिक इजलासबाट नै आएकाले मुद्दा नहेर्ने भनेपछि मंगलबारको सुनुवाइ सरेको थियो। लामिछानेले वैशाख १० मा चितवन–२ मा हुने उपनिर्वाचनमा उम्मेदवारी समेत दिएका छन्। उनको उम्मेदवारीलाई लक्षित गर्दै रिट दायर गरिएको हो।
लामिछानेको मुद्दा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले माघ १३ गते फैसला सुनाएको थियो।
योसँगै उनी सांसद पद र नागरिकताविहीन भएका थिए। सर्वोच्चको उक्त फैसलालगत्तै उनले जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर पुन: नागरिकता लिएका थिए।
(यसअघि प्रकाशित समाचारमा गलत विवरण परेकाले सच्याइएको छ। यसबाट पर्न गएको असुविधाका लागि क्षमाप्रार्थी छौँ।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।