काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चितवन–२ मा दिएको उम्मेदवारी खारेजीको माग गर्दै पाँच थान उजुरी दर्ता भएको छ। निर्वाचन अधिकृतको कार्यालय चितवनमा लामिछानेले बैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवार हुन अयोग्य भएको उजुरीमा दाबी गरिएको छ।
काठमाडौंबाट इमेलमा एक र उम्मेदवारका प्रतिनिधिले चार थान उजुरी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उक्त उजुरीहरुमा बुधबार निर्णय हुने छ।
निर्वाचन कार्यालयले सुरुमा उम्मेदवारलाई सात दिनभित्र आफ्नो कुरा राख्न समय दिन्छ। उक्त समयभित्र लामिछानले आफ्नो बारेमा प्रष्ट पार्नुपर्ने छ।
लामिछानेले उम्मेदवारी दर्ता गर्न नेपालको संविधानको धारा २९१ले अयोग्य ठहर गर्ने दाबी उजुरीमा गरिएको छ। संविधानको धारा २९१ मा विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिनाको अवधि व्यतित् नभइ निर्वाचनमा उम्मेदवार हुन रोक लगाएको र लामिछानेले नागरिकता लिएको ३ महिना पूरा नभएको उजुरीमा उल्लेख छ।
माघ १५ मा लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुन: नागरिकता लिएका थिए। यसरी नागरिकता लिएको मितिलाई आधार मान्दा यो अवधि पूरा नभएको उजुरीमा उल्लेख छ।
स्वतन्त्र उम्मेदवार सन्तोष थापा र अर्का स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवहरि सुवेदीले मुख्य निर्वचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका छन्। त्यसैगरी काठमाडौंबाट युवराज पौडेलले पनि ई–मेलबाट पठाएको उजुरी कार्यालयमा दर्ता भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।