काठमाडौं– पाँच दलीय गठबन्धनमा सहभागी दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दै वैशाख १० मा हुन गइरहेको उपनिर्वाचनमा गठबन्धनका उम्मेदवारहरूको पक्षमा परिचालित हुन नेता/कार्यकर्तालाई आग्रह गरेका छन्।
माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरले संयुक्त हस्ताक्षर गर्दै यस्तो अपिल गरेका हुन्।
प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि गठबन्धन दलका तर्फबाट तनहुँ–१ मा नेपाली कांग्रेसका गोविन्द भट्टराई, चितवन–२ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र बारा–२ मा जनता समाजवादी पार्टी, नेपालका उपेन्द्र यादवका पक्षमा प्रचार–प्रसारमा सक्रिय हुन उनीहरूले साझा अपिल गरेका हुन्।
‘गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी गराई निर्वाचनलाई परिणाममुखी बनाउन गठबन्धन दलका पार्टी पंक्ति एकीकृत रुपमा परिचालित हुन आवश्यक छ’, साझा अपिलमा भनिएको छ, ‘गठबन्धन दलका पार्टीका सदस्य, भ्रातृ एवं शुभेच्छुक संघ, संस्था/संगठनका साथीहरू तथा शुभचिन्तक सबैको सक्रिय योगदानका लागि आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गरिन्छ।’
गठबन्धनमा रहेका दलको सम्बन्धित प्रदेश, जिल्ला र उपनिर्वाचन हुने प्रतिनिधि सभा क्षेत्रसँग आवश्यक समन्वय गरी गठबन्धन दलका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी बनाउन आ–आफ्नो तहबाट सम्पूर्ण पार्टी पंक्तिलाई व्यापक परिचालन गर्न उनीहरूले आग्रह गरेका छन्।
यस्तो छ अपिल:
![Apeel_5_Party1680608868.jpg](https://nepallive.net/uploads/posts/Apeel_5_Party1680608868.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।