काठमाडौं– नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको केन्द्रीय तदर्थ समितिलाई १० दिनभित्र पूर्णता दिने निर्णय भएको छ।
पछिल्लो समयमा नेविसंघभित्र देखिएको समस्याका सम्बन्धलाई लिएर पार्टीको केन्द्रीय कार्यालयमा नेविसंघ बृहत् संघर्ष समितिका नाममा बसेको रिले अनसनका सम्बन्धमा समस्या समाधानका लागि नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दम्वेको रोहवरमा भएको छलफलमा उक्त निर्णय भएको हो।
दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिलाई १० (दश) दिनभित्रमा पूर्णता प्रदान गर्ने, नेपाल विद्यार्थी संघको आगामी १२ औं महाधिवेशन ८ (आठ) महिनाभित्रमा सम्पन्न गर्ने र जिल्लामा देखिएका समस्याका सन्दर्भमा पार्टीको नेतृत्व र पदाधिकारीबीच छलफल गरी उत्पन्न समस्याको यथाशीघ्र समाधान गर्ने निर्णय भएको हो।
उक्त निर्णयपछि रिले अनसनमा बसेका नेविसंघ इतर पक्षका विद्यार्थीहरुको अनशन आजैबाट अन्त्य गर्ने लिखित निर्णय भएको छ।
नेविसंघ अध्यक्ष सेर्पाले नेविसंघको विधि विधान विपरीत पत्रका आधारमा अध्यक्ष नियुक्ति गर्ने गरेको, अधिवेशन गर्न पछि हटेको, गुटको राजनीति गरेको भन्दै इतर पक्षका विद्यार्थीहरुले पार्टी केन्द्रीय कार्यालयमा रिले अनशन थालेका थिए।
नेविसंघ बृहत् संघर्ष समितिका तर्फबाट उज्वल बज्राचार्य, नेविसंघ अध्यक्ष दुजाङ शेर्पा र नेपाली कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रेम केसीले निर्णयमा हस्ताक्षर गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।