काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ–१ मा उपनिर्वाचनका लागि उम्मेदवार बनेका स्वर्णिम वाग्लेले आर्थिक सहयोगका लागि आह्वान गरेका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै वाग्लले ‘निर्वाचनका लागि पारदर्शी कोष’ भन्दै नयाँ खाता समेत सञ्चालनमा ल्याएको बताएका छन्।
‘तनहुँ–१ को आसन्न उपनिर्वाचनमा आर्थिक सहयोग गर्न धेरैजना शुभचिन्तकले इच्छा गर्नुभएको छ। यसै प्रयोजनका लागि निम्न खाता (नयाँ) खोलेको छु। निर्वाचन आयोगले रु. ३१ लाखको सीमा तोकेकोमा यसभन्दा धेरै पैसा जम्मा भए पूर्ण सार्वजनिक जानकारीसहित कानुन बमोजिम गर्नेछु’, वाग्लेले लेखेका छन्।
योजना आयोग नेपालका पूर्वउपाध्यक्ष समेत रहेका वाग्लेले उपनिर्वाचनको मुखैमा नेपाली कांग्रेस परित्याग गर्दै रास्वपा रोजेका थिए। उनले रास्वपा प्रवेश गर्ने बित्तिकै सोमबार तनहुँ–१ बाट उपनिर्वाचनका लागि उम्मेदवारि दर्ता गरेका थिए।
आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा वाग्लेसहित नेपाली कांग्रेसका तर्फबाट गोविन्द भट्टराई र एमालेका सर्वेन्द्र खनाल चुनावी मैदानमा होमिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।