काठमाडौं– नेपाल राष्ट्र बैंकले क्रिप्टो, क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी नेटवर्क मार्केटिङ र हाइफर फन्डजस्ता कारोबार वा व्यवसाय गरेको पाइएमा कारबाही गर्ने चेतावनी दोहोर्याएको छ।
राष्ट्र बैंकले यसअघि २०७४ साउन २९, २०७८ भदौ २४, २०७८ माघ ९ र २०७९ साउन ३० मा सार्वजनिक सूचनाहरु प्रकाशन गरेको स्मरण गराउँदै उक्त निर्देशनपछि पनि अटेर गरेको पाइएकाले फेरि चेतावनी दिएको हो।
यस्तो कारोबार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ बमोजिम गैरकानुनी रहेको भन्दै यस्तो कारोबार गरेको पाइएमा कारबाही हुने राष्ट्रबैंकले जनाएको छ।
‘नेपालभित्र बसोबास गर्ने नेपाली नागरिक/फर्म/कम्पनी/संस्था (विदेशी समेत) र नेपाल बाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा नेपालमा दर्ता भई नेपाल बाहिर रहेका, फर्म, कम्पनी, संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यालय तथा एजेन्सीहरुले विदेशमा लगानी हुनेगरी कुनै पनि प्रकारका भर्चुअल करेन्सी, क्रिप्टो वा पिरामिडमा आधारित कारोबार नर्गनु होला.’ राष्ट्र बैंकको सूचनामा भनिएको छ, ‘हाइफर फन्ड जस्ता नेटवर्क मार्केटिङको कारोबार गरे/गराएको पाइएमा तथा सोको प्रयोग/संलग्नता/सदस्यता/लगानी/स्वामित्व ग्रहण/स्थानान्तरण/विप्रेषण/विनिमय/सम्बन्धी कार्य गर्ने/गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने छ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।