मुम्बई (एजेन्सी) – सलमान खानले अन्ततः आफ्नो ज्वाइँलाई फिल्ममा लन्च गर्ने भएका छन् । सलमानले बहिनी अर्पिताका पति आयुष शर्मालाई आफ्नै प्रोडक्सन हाउसबाट डेब्यू गराउने भएका हुन्।
आयुषको डेब्यू फिल्मको विषयमा लामो समयदेखि विभिन्न अनुमान गरिँदै आएको थियो । उनले यसका लागि तीन वर्षदेखि पर्खँदै आएका थिए । अब यो पर्खाइको घडी सकिएको छ । सलमान खान फिल्म्सको ब्यानरमा उनको पहिलो फिल्म बन्ने तय भएको छ।
फिल्मको निर्देशन अली अब्बास जफरका सहायक निर्देशक रहर काम गरिसकेका अभिराज मीनावालाले गर्नेछन् । अभिराजसँग सलमानको भेट 'सुल्तान' फिल्म निर्माणको समयमा भएको थियो।
आयुषले फिल्ममा काम गर्न लागेकोबारे सलमान खानले ट्विटरमा घोषणा गरेका छन् । उनले आयुषलाई मेन्सन गर्दै लेखेका छन्- 'धेरै बधाई ! अब निकै मिहिनेत र लगनका साथ काम गर्ने समय आएको छ । सफलताको लागि शुभकामना!'
Congrats @aaysharma Now is the time for a lot of mehnat aur lagan. Wish you all success God Bless #AayushSharma
— Salman Khan (@BeingSalmanKhan) October 9, 2017
आयुष पछिल्लो तीन वर्षदेखि आफ्नो डेब्यू फिल्मका लागि तयारीमा जुटेका थिए । ‘बजरंगी भाइजान’, ‘प्रेम रतन धन पायो’, ‘सुल्तान’ र ‘ट्युबलाइट’ को सुटिङको क्रममा उनी सलमानसँगै रहेका थिए । उनले सुटिङको सेटमा अभिनय कौशल सिक्नुका साथै नृत्य र द्वन्द्वको तालिम पनि लिएका थिए । आयुषमा निखार आएको पाएसँगै सलमानले उनलाई डेब्यूको लागि तयार रहेको ठानेर बल्ल फिल्म निर्माणको घोषणा गरेका हुन्।
डेब्यू फिल्म आउने तय भएसँगै आयुष अभिनय कार्यशालामा जान थालिसकेको बताइएको छ । फिल्मको हिरोइन भने फाइनल हुन बाँकी छ । फिल्मको सुटिङ फेब्रुअरीदेखि सुरु हुने भएको छ । फिल्ममा गुजरातको परिवेशमा आधारित प्रेमकथा प्रस्तुत हुनेछ।
सलमानले भनेका छन्, 'हो, हामी आयुषको फिल्म निर्माण गर्न लागिरहेका छौं । सुटिङ फेब्रुअरीमा सुरु भएर २०१८ को आखिरमा रिलिज हुनेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।