काठमाडौं– अमेरिकासम्म मार हान्नसक्ने आफ्नो परमाणु क्षेप्यास्त्रलाई पहिलोपल्ट उत्तर कोरियाले सार्वजनिक गरेको छ। उत्तर कोरियाको सरकारी मिडिया केसीनाएले मंगलबार क्षेप्यास्त्रको फोटो सार्वजनिक गरेको हो।
स्थानीय मिडियाका अनुसार उत्तर कोरियाली शासक किम जोङ उनले ‘न्यूक्लियर वेपन इन्स्टिच्युट’को कार्यालय पुगेर परमाणु क्षेप्यास्त्रको विषयमा जानकारी लिएका थिए।
अन्तर्राष्ट्रिय मिडियाले पहिलोपल्ट उत्तर कोरियाले आफ्नो परमाणु क्षेप्यास्त्र सार्वजनिक गर्नुको कारण अमेरिकाको यस क्षेत्रमा बढ्दो प्रभावलाई बताएका छन्। अमेरिकाको सैन्यपोत ‘मिलिट्री ड्रिल्स’का लागि हालै दक्षिण कोरिया पुगेको थियो।
उत्तर कोरियाले आफ्नो परमाणु क्षेप्यास्त्रलाई ह्वासेन–३१ नामकरण गरेको छ। परमाणु क्षेप्यास्त्र विज्ञहरूका अनुसार उत्तर कोरियाको हतियार सानो देखिए पनि प्रभावकारी छन्। विज्ञहरू उत्तर कोरियामा निर्मित अन्तर–महादेशीय ब्यालेस्टिक मिसाइलले अमेरिका तथा दक्षिण कोरियालाई ध्वस्त पार्नसक्ने दाबी गर्छन्।
सिउल राष्ट्रिय विश्वविद्यालयका प्रोफेसर क्युन सु मंगलबार पहिलोपल्ट सार्वजनिक परमाणु क्षेप्यास्त्र सन् २०१६ को तुलनामा ठूलो भएको बताउँछन्। यसले परमाणु हतियार बनाउने उत्तर कोरियाली प्रविधिमा विकास भएको उनको भनाइ थियो।
मंगलबार उत्तर कोरियाले क्षेप्यास्त्रको तस्बिर सार्वजनिक गरेपछि ह्वाइटहाउस सक्रिय देखिएको छ। ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले उत्तर कोरियाले परमाणुमुक्त गर्ने अभियानलाई निरन्तरता दिनुपर्ने बताए।
उनले भने, ‘उत्तर कोरियासँग हतियार पनि छ। त्यसलाई चलाउन मिसाइल पनि बनाइसकेको छ। अब उसको ध्यान ठूलो हतियार बनाउने योजनामा हुनसक्छ।’
उत्तर कोरियाली शासक किमले न्यूक्लियर विभागको निरीक्षण गर्ने क्रममा भनेका थिए, ‘हाम्रो दुश्मन कुनै एउटा देश वा समूह मात्र हुन सक्दैन। हामीले विश्वमा भइरहेको कुनै पनि युद्धका लागि सचेत अवस्थामा बस्नु पर्नेछ।’
अमेरिकाले उत्तर कोरियाको परमाणु कार्यक्रमलाई असफल बनाउन विगतमा थुप्रै प्रयास गरेको थियो। ‘स्टेटिस्टा रिसर्च विभाग’ का अनुसार उत्तर कोरिया सबैभन्दा बढी प्रतिबन्धित हुने देशको सूचीमा चौथो नम्बरमा पर्छ। उत्तर कोरियाले २ हजारभन्दा बढी प्रतिबन्ध झेलिसकेको छ।
तर पनि उ हतियार परीक्षणबाट पछाडि हटेको छैन। न्यूज एजेन्सी एपीका अनुसार यसवर्ष उत्तर कोरियाले ११ पल्ट २० ब्यालेस्टिक मिसाइलको परीक्षण गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।