काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक बैठक राखेका छन्।
बैठकमा उनले विमानस्थलका कर्मचारीसँग १२ वटा प्रश्नको जवाफ मागेका छन्। उनले बोलेर, लेखेर भन्दा पनि परिणाम खोजिने भन्दै कर्मचारीलाई सचेत समेत गराएका छन्।
मन्त्री किराँतीले विमानस्थलमा यात्रुहरुको ब्यागेज चोरी हुने घटनाबारे सत्यतथ्य जानकारी गराउन निर्देशन दिएका छन्। साथै उनले अराइभलमा यात्रु लड्ने विद्युतीय भर्याङ कहिलेसम्म बनिसक्छ? भन्दै जवाफ मागेका छन्।
मन्त्री किराँतीले जवाफ माग गरेका १२ प्रश्न यस्ता छन् :
१– ब्यागेज चोरिएको घटनाहरु सत्य हो?
२– अराइभलमा यात्रु लड्ने विद्युतीय भर्याङ के हुँदैछ, कहिलेसम्म बनिसक्छ?
३– सरसफाई अभियान के कस्तो चल्दै छ?
४– समयमा जहाज उड्दैछ कि छैन?
५– यात्रुमैत्री एअरपोर्ट बन्दै छ कि छैन?
६– एअरपोर्टभित्र महँगी नियन्त्रण भयो कि भएन?
७– ब्रेकबिनाको ट्रली फेर्ने काम कहाँ पुग्यो?
८– शौचालयभित्र बजिरहेको संगित किन बन्द भयो?
९– महिला शौचालयमा सेनिट्यारी प्याड राख्ने काम के भयो?
१०– एअरपोर्ट अगाडिको ब्यूटिफिकेशन के भयो?
११– एयरपोर्टभित्र कुकुर र बाँदर कसरी पस्यो?
१२– एअरपोर्टभित्र वाईफाई प्रभावकारी किन चल्दैन?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।