एजेन्सी– दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ। उद्धारकर्मीहरूका अनुसार २३ जना घाइते भएका छन् भने सात जना अझै हराइरहेका छन्।
गएराति जहाजमा आगो लागेपछि चालक दलका ३५ जना सदस्य र एक सय ९० जना यात्रीलाई तट रक्षक र माझीहरूको सहयोगमा सकुशल उद्धार गरिएको सरकारी अधिकारीहरूले आज जनाएका छन्। पानी जहाजमा दुई सय ५० भन्दा बढी यात्री रहेका बताइएको छ।
लेडी मेरी जोय–३ नामको पानीजहाज मिन्डानाओ टापुको जाम्बोआङ्गा सहरबाट सुलु प्रान्तको जोलो टापुतर्फ गइरहेका बेला आगो लागेको थियो।
सात हजारभन्दा बढी टापुको द्वीपसमूह फिलिपिन्समा अव्यवस्थित समुद्री यातायात, नियमित अनुगमनको अभाव र भीडभाडका कारण बेलाबेलामा यस्ता दुर्घटना हुनेगरेका छन्।
सन् १९८७ को डिसेम्बरमा डोना पाज नामको पानीजहाज इन्धन बोकेको अर्को जहाजसँग ठोक्किएर डुब्दा चार हजार तीन सयभन्दा बढीको मृत्यु भएको थियो। शान्तिकालमा समुद्री भवितव्यमा परेर विश्वमा त्यति धेरै मानिसको एकैपटक ज्यान गएको इतिहास छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।