म्यानमार- म्यानमारको सैन्य सरकार जुन्ताले त्यहाँका ४० दलको वैधानिकता खारेज गर्ने निर्णय गरेको छ। जुन्ता सरकारको उक्त निर्णयको अमेरिकाले विरोध गरेको छ। बैधानिकता खारेज हुनेमा नोबेल शान्ति पुरस्कार विजेता हाल सैन्य हिरासतमा बन्दी रहेकी आड्ड सान सुकीको दल नेसनल लिग फर डेमोक्रेसी पनि रहेको छ।
समाचार एजेन्सी एएफपीका अनुसार म्यानमार सैन्य सरकारका तर्फबाट नियन्त्रित चुनाव आयोगले मंगलबार यसको घोषणा गरेको हो। चुनाव आयोगले सेनाले निर्माण गरेको कानुन अनुसार पुन: पञ्जीकरण नगरेका कारण नेसनल लिग फर डेमोक्रेसी खारेज गरिएको हो।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेलले म्यानमारको सैन्य सरकारको उक्त निर्णयको आलोचनासँगै निन्दा गर्ने बताए।
‘हामी बर्माको सैन्य सत्ताका तर्फबाट नेसनल लिग फर डेमोक्रेसीसमेत ४० राजनीतिक दलको दर्ता खारेज गर्ने निर्णयको कडा शब्दमा निन्दा गर्दछौं,’ उनले भने। सन् २०२१ मा सुकी सरकारलाई अपदस्थ गर्दै सेनाले राज्यशक्ति आफ्नो हातमा लिएको थियो। यसपछि पहिलो पटक सेना निर्वाचनतिर अघि बढेको हो।
सैन्य सत्ताका आलोचकहरुका अनुसार यो चुनावको उद्देश्य सेनाको शक्ति अझै बढाउनु हो। अमेरिकाले यसरी हुने निर्वाचनले बैधता नपाउने टिप्पणी गरेको छ।
‘बर्माका सबै पक्षले भाग लिएविना कुनै पनि स्वतन्त्र या निष्पक्ष निर्वाचन भएको मानिने छैन,’ अमेरिकाले भनेको छ, ‘सैन शासनप्रति व्यापक विरोधलाई देख्दादेख्दै एकपक्षीय रुपमा निर्वाचन गराउने निर्णयले अस्थिरता बढ्ने सम्भावना देखिएको छ।’ अमेरिकाले म्यानमारको आलोचना गर्दै उसको पूर्ववर्ती नाम बर्मा प्रयोग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।