काठमाडौं– निगरानी क्यामेरामा कैद भएको भिडियो छोटो छ, तर निकै दर्दनाक छ। उत्तरी मेक्सिकोको एक आप्रवासी हिरासत केन्द्रको भित्रको भागको यो भिडयोमा हिरासत कक्षमा रफ्तारसँग फैलिरहेको आगो देखिन्छ र त्यहाँ बन्दी बनाइएका व्यक्तिहरु मद्दतको लागि बिन्ती गरिरहेका हुन्छन्।
जसै कालो धुवाँ निस्किन्छ, बन्दी बनाइएकाहरुलाई बचाउने कोसिस गर्नुको सट्टा सुरक्षा गार्डहरु बाहिर निस्केर भागिरहेको देखिन्छ।
यो दृश्य मेक्सिकको उत्तरी क्षेत्रमा रहेको आप्रवासी केन्द्रको हो। जहाँ आगलागी हुँदा बन्दी बनाइएकामध्ये ४० जना आप्रवासीको मृत्यु भएको छ। मारिनेमा अधिकांश मध्य र दक्षिण अमेरिकाबाट संयुक्त राज्य अमेरिका जाने प्रयासमा रहेका आप्रवासी रहेको अधिकारीहरूले बताएका छन्।
आगलागीको सुरुवात निर्वासनको विरोधमा भएको प्रदर्शनका क्रममा भएको बताइएको छ। आगलागी स्थानीय समयानुसार राति ९ बजे अघि भएको थियो। टेक्सासको एल पासोबाट रियो ग्रान्डे नदीको छेउमा रहेको यस सहरमा पछिल्ला दिनहरुमा आप्रवासीहरुको ठूलो भीड लाग्दै आएको छ।
महामारीका समयमा अमेरिकाले आप्रवासीलाई सहजै सीमा पार गर्न दिएकाले त्यसैको आशामा ठूलो संख्यामा आप्रवासी मेक्सिको पुगेका बताइएको छ।
मेक्सिकोका राष्ट्रपति लोपेज ओब्राडोरले आप्रवासीहरुले उनीहरुलाई निस्कासन गर्न लागेको भन्ने सूचनाका आधारमा विरोधका लागि आफूहरुले प्रयोग गर्दै आएको गद्दामा आगो लगाएर विरोध सुरु गरेको बताएका छन्। पछि त्यही आगो फैलिएर त्रासदीपूर्ण घटना घटेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।