धर्मशाला (भारत)– अमेरिकामा जन्मिएका ८ वर्षीय मंगोलियाली बालक तिब्बती बौद्ध धर्मको तेस्रो ठूलो गुरू नियुक्त भएका छन्।
जुम्ल्याहा बच्चाको रूपमा जन्मिएका उनलाई तिब्बती धर्मगुरू दलाई लामाले ८ मार्चमा हिमाचल प्रदेशको धर्मशालामा आयोजित कार्यक्रममा नियुक्त गरेका हुन्।
चीन सरकारले आफैले धर्म गुरू नियुक्त गर्ने चेतावनी दिइरहेको बेला यो घटनालाई गोप्य राखिएको थियो। दलाई लामाले नवनियुक्त धर्मगुरू दसौं खलखा जेटसन धम्पा रिनपोछेको पुनर्जन्म भएको बताएका छन्। नयाँ धर्मगुरू नियुक्ति कार्यक्रममा ६ सय मंगोलियाली उपस्थित रहेको भारतीय अखबारहरूले बताएका छन्।
मंगोलियाबाट तिब्बतको नयाँ धर्मगुरू नियुक्त भएको खबर सुनेपछि मंगोलियामा उत्सवको माहोल रहेको स्थानीय मिडियाले बताएका छन्। नयाँ तिब्बती धर्मगुरू नियुक्त बालकको पिता गणित विषयका प्रोफेसर हुन् भने हजुरआमा मंगोलियाको सांसद थिइन्। मंगोलियाको मिडियाले जुम्ल्याहा बालकहरूको नाम अगुदाई र अचिल्ताई भएको बताएको छ।
दलाई लामाको पछिल्लो कदमको ठूलो राजनीतिक महत्व रहेको पश्चिमा मिडियाले जनाएका छन्। चीन पछिल्लो समय तिब्बती बौद्ध धर्मको परम्परामा आफ्नो पक्षधरलाई नियुक्त गर्न चाहन्थ्यो। तिब्बतमा कुनै किसिमको विद्रोह नहोस् भन्ने चाहना चीनको छ।
त्यसैले उसले चीनभित्र त्यस्ता धर्मगुरूलाई मान्यता नदिने बताइसकेको छ। सन् १९९५ मा दलाई लामाले तिब्बतको दोस्रो ठूलो धर्मगुरू पञ्चेन लामाको घोषणा गर्दा चीनले ती व्यक्तिलाई पक्रेर जेल हालेको थियो।
यसपछि चीनले आफैंले धर्मगुरूको नियुक्ति गर्दै आइरहेको छ। दलाई लामाले तेस्रो धर्मगुरू नियुक्त गरेपछि बालकको सुरक्षालाई लिएर चिन्ता बढेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।