काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देश सोचेभन्दा फरक रहेको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित ६२ औं रंगमञ्च दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
उनले देश जहाँ छोयो त्यहीँ नै फाटेको बताए। उनले १० वर्ष सांसद भइसक्दा आफूले देशको बारेमा सबैकुरा बुझेको जस्तो अनुभव भए पनि मन्त्री बनेर काम गरिरहँदा सोचेभन्दा धेरै फरक पाएको बताए।
मन्त्री किराँतीले आफू व्यक्तिको परीक्षामाभन्दा युगको परीक्षाको चरणमा रहेकाले असफल हुने छुट नरहेको उल्लेख गरे। उनले आफू फेल भए युग र व्यवस्था नै फेल हुने बताए।
मन्त्री किराँतीले नेपालमा धेरै विदेशका कुरा हुने तर स्थानीय सोच र उत्पादनहरुको स्थान नहुँदा पछि परिरहेको उल्लेख गरे। बेरोजगार भएर मात्रै विद्यार्थीहरु विदेश जाने नगरेको भन्दै नेपालको शिक्षामा नै विष हालिएको उनको भनाइ छ। उनले विद्यार्थीहरुलाई शिक्षा दिँदा नै स्वदेशी संस्कृति र शिक्षामा स्वदेशी सपनाको मृत्यु हुने विष हालेको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।