एजेन्सी– अमेरिकाको दक्षिणी राज्य मिसिसिपी र अल्बामा आएको भीषण आँधीमा परी २६ जनाले ज्यान गुमाएका छन् भने सयौं घाइते भएका छन्। खोज तथा उद्धार प्रयास जारी छ भने राज्य सरकारले आपत्काल घोषणा गरेको छ।
आँधीबाट रोलिङफार्क अति प्रभावित भएको छ। कुच्चिएका मोटरकार, इँटा र शिशाले सडक हेरिनसक्नु छ भने पूरै सहर प्रायः भग्नावशेषमा परिणत भएको छ। यहाँका एक जना बासिन्दाले आँधीका बेला ‘बाथ टब’मा बस्दा आफ्नो ज्यान जोगिएको बताएका छन्।
पश्चिमी शार्की काउन्टीको अवस्था पनि त्यस्तै छ। सबैतिर तहस–नहस। वरिपरिको खेतबारीका रमणीय वातावरण पनि आँधीको चपेटामा परेको छ। वोटविरुवा सोत्तर भएका छन्।
घरहरू भत्केका छन्, तिनका भग्नावशेष यत्रतत्र फैलिएका छन्। रुख जरैदेखि उखेलिएका छन्। मोटरकार उत्तानो परेका छन्। घरका पर्खाल र छाना देखिँदैनन्। भग्नावशेषको उरुङबाहेक केही देखिँदैन। अकल्पनीय क्षति भएको छ।
आँधीका कारण विद्युत् आपूर्ति नहुँदा शनिबार सबैतिर अन्धकार भएको थियो। दुई सय ६५ देखि तीन सय २० किलोमिटरको बेगमा पाँचदेखि १० मिनेटसम्म आएको आँधीले केही राखेको छैन।
निरपेक्ष गरिबीको रेखामुनि रहेका यहाँका करिब दुई हजार जनतालाई तत्काल सहायता परिचालन गर्न राष्ट्रपति जो बाइडेनले सङ्घीय सरकारलाई आदेश दिएका छन्। अस्थायी आवास, घरमर्मत, बीमा नगरिएको सम्पत्तिको नोक्सानी क्षतिपूर्तिस्वरुप ऋण अनुदानलगायत सुविधा उपलब्ध गराउन उनले आदेश दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।