एजेन्सी– अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्ध प्रारम्भ भएपछि रुसलाई चीनले हातहतियार आपूर्ति नगरेको बताएका छन्। विगत तीन महिनादेखि आफूले रुसलाई चीनबाट हतियार आपूर्ति भएको खबर सुने पनि अहिलेसम्म बेइजिङले त्यसो नगरेको उनले बताए।
‘चीनले अहिलेसम्म रुसलाई हतियार उपलब्ध गराएको छैन भन्नेमा म विश्वस्त छु,’ क्यानडा भ्रमणमा रहेका अमेरिकी राष्ट्रपतिले यहाँ भएको पत्रकार सम्मेलनमा भने। साथै उनले चीन र रुसबीचको सम्बन्धलाई सामान्य रुपमा नलिएको बताउँदै पछिल्लो समय सार्वजनिक भएका समाचारमा बढाइचढाइ भएको बताए।
राष्ट्रपति बाइडेनले प्रजातन्त्रवादी पश्चिमा मुलुकबीचको सुदृढ सम्बन्धमा जोड दिँदै पारस्परिक एकता र सहयोग अपरिहार्य भएको बताए। उनले प्रशान्त क्षेत्रमा विद्यमान अमेरिकी गठबन्धन ‘क्वाड’ र अष्ट्रेलिया, भारत, जापान, अष्ट्रेलिया र बेलायत सम्मिलित औकुस (एयुकेयुस) महत्वपूर्ण सुरक्षा साझेदार रहेको दाबी गरे।
यसैसाता चिनियाँ राष्ट्रपति सी चिनफिङबाट भएको रुस भ्रमण मस्को र बेइजिङबीचको विशेष प्रकृतिको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रयास हो भन्दै राष्ट्रपति बाइडेनले युक्रेनलाई परास्त गर्न चीनले मस्कोलाई हातहतियार आपूर्ति गर्ने प्रतिबद्धता नजनाएको बताए।
‘चीनले रुसलाई हतियार दिने घोषणा गरेको भए अमेरिकासहित पश्चिमा मुलुकले बेइजिङमाथि कडा प्रतिबन्ध लगाउने परिस्थिति सृजना गर्थ्यो। युरोपमा नै अपर्याप्त भएको रुसी इन्धन चीनले खरिद गर्ने प्रतिबद्धता पनि व्यवहारिक एवम् दीर्घकालीन छैन,’ राष्ट्रपति बाइडेनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।