इस्लामावाद– मंगलबार राति अफगानिस्तानमा केन्द्रबिन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ। मंगलबार राति करिब पौने ११ बजेतिर ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो।
समाचार एजेन्सी पीटीआईका अनुसार उक्त भूकम्पबाट हालसम्म पाकिस्तानमा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
भुइँचालोको कम्पन पाकिस्तानदेखि भारतको राजधानी नयाँ दिल्ली र उत्तर भारतका विभिन्न ठाउँमा महसुस गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भुइँचालोको केन्द्रविन्दु अफगानिस्तानको कालफगान भन्ने ठाउँबाट ९० किलोमिटर दूरीमा रहेको बताइएको छ। केन्द्रबिन्दु अफगानिस्थानको क्षेत्रमा भए पनि पाकिस्तानमा धेरै प्रभाव परेको बताइएको छ।
समाचार एजेन्सीका अनुसार मृत्यु हुनेहरु पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तका रहेका छन्। घरको छत खस्दा दुई जनाको मृत्यु भएको थियो।
धेरै संरचनाहरुमा क्षति पुगेको बताइए पनि अहिलेसम्म विस्तृत विवरण भने आइसकेको छ। यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय विपद् प्राधिकरण र अन्य संस्थानलाई उद्धारका लागि निर्देशन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।