काठमाडौं– मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले तेस्रो नेपाल फाइभ पी अन्तर्राष्ट्रिय प्रर्दशनी गर्ने भएको छ। प्रदर्शनी चैत्र १०, ११ र १२ गते भृकुटीमण्डपमा हुनेछ। प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका १५० भन्दा बढी स्टलहरू रहने जनाइएको छ।
नेपाल फाइभ पी नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ् र प्रोसेसिङ्सँग सरोकार राख्ने व्यापार व्यवसायहरूलाई एकै ठाँउ ल्याएर व्यापार साझेदारी,नविनतम प्रविधि प्रदर्शन र संवाद गर्न साझा मञ्च प्रदान गर्ने एक मात्र उद्योग –व्यापार विषेश अन्तराष्ट्रिय प्रदर्शनी हो।
उक्त प्रर्दशनीमा देश भरीबाट बढीभन्दा बढी उद्यमी,अनुसन्धानकर्ता, संघ संस्थाका प्रतिनिधि आदिले आधुनिक प्रविधिहरूको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने विश्वास लिइएको छ।
उक्त प्रदर्शनीमार्फत ५ विधामा सञ्चाल भएका उद्योग र व्यापार व्यवसायलाई निर्यातका नयाँ अवसरहरू, नविनतम प्रविधिसँग सात्क्षात्कार गराउनुका साथै विभिन्न उद्योगहरूबीच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजकले विश्वास लिएको छ।
यस अन्तरास्ट्रिय प्रदर्शनीमा सह-आयोजकका रुपमा नेपाल मुद्रण उद्योग महासंघ तथा सहयोगी संस्थाको रुपमा नेपाल कोरोगेटेड बक्स उत्पादक संघ रहेका छन् । यस प्रदर्शनिमा प्लास्टिक प्रोसेसिङ् मसिनरीका उत्पादक, स्क्रिन प्रिन्टिङ्, ईन्डक्सन मोल्डिङ् मसिन, प्रिन्टिङ् मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिङ् स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ् मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादकलगायतका संस्थाको सहभागिता रहने आयोजकले जनाएको छ।
सप्लायर्स र उत्पादकहरुको साझा मञ्च मात्र नभएर नेपाल फाइभ पीले समृद्द नेपालको रेखांकनमा पनि उत्तिकै योगदान पुर्याउनका साथै संसार भरिका उत्कृष्ट प्रविधि र प्रयासलाई भित्राउने एक्स्पोका आयोजकले दावी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।