काठमाडौं– कोरियाली कार निर्माता कियाले आफ्नो नयाँ एमपीभी कारेन्स गाडी नेपाली बजारमा ल्याएको छ। कम्पनीले नेपालका लागि आफ्नो अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजमार्फत गाडी सार्वजनिक गरेको हो। कम्पनीले पछिल्लो संस्करण ‘किया कारेन्स’लाई पारिवारिक कार भनेको छ।
‘कारेन्स कार मात्र नभएर आफ्नो परिवारलाई सबैभन्दा माथि राख्ने व्यक्तिका लागि सवारीको उत्तम विकल्प हो,’ कम्पनीद्वारा विज्ञप्तिमा भनिएको छ, ‘यो आधुनिक सेफ्टी, स्पेस र स्टाइल समेटेर आएको छ।’
किया कारेन्स भारतको प्रतिष्ठित इन्डियन कार अफ द इयर (आईसीओटीवाई) २०२३ अवार्ड प्राप्त एमपीभी हो। गत जनवरीमा भारतमा ७ हजार ९०० थान कारेन्स बिक्री भएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार सन् २०२२ को जुनमा ७ हजार ८९५ युनिट बिक्री भएको थियो। ‘एक वर्षअघि बजारमा आएयता भारतमा ७० हजार ६५६ युनिट कारेन्स बिक्री भएको छ’ कम्पनीले भनेको छ।
यसमा ६ एयरब्याग, इलेक्ट्रोनिक्स स्टाबिलिटी कन्ट्रोल, भेहिकल स्टाबिलिटी म्यानेजमेन्ट, ब्रेक एसिस्ट, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, डाउनहिल ब्रेक कन्ट्रोल, एन्टी लक ब्रेक सिस्टम, अल हिृवल डिस्क ब्रेक, हाइलाइन टायर प्रेसर मोनिटरिङ सिस्टम र रियर पार्किङ सेन्सर जडान छ।
यो दुई थरी पेट्रोल इन्जिनमा उपलब्ध छ। ११५ बीएचपी र १४४ एनएम टर्कयुक्त १.५ लिटर एउटा इन्जिन र अर्को १४० बीएचपी र २४२ एनएम टर्कयुक्त १.४ लिटरमा उपलब्ध छ। ६ स्पिड म्यानुअल भने १.५ लिटर पेट्रोलमा मात्र प्रदान गरिएको छ।
१.४ लिटर टर्बो पेट्रोलमा ७ स्पिड डीसीटी अप्सन छ। कारेन्स ११५ बीएचपी तथा २५० एनएम टर्कयुक्त १.५ लिटर टर्बो डिजेल इन्जिनमा पनि उपलब्ध छ। यसमा म्यानुअल र अटोमेटिक ट्रान्समिसन छ। कारेन्स प्रिमियम भेरियन्टको मूल्य ४८ लाख ९० हजार तथा प्रेस्टिज भेरियन्टमा ५२ लाख ९० हजार रुपैयाँ तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।