काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने भ्रमणका लागि सोमबार अपराह्न मस्को पुगेका छन्। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नेछन्। उनीहरुबीच मंगलबार भेटवार्ता हुने कार्य तालिका छ।
रुस–युक्रेन युद्ध सुरु भएयता चिनफिङ पहिलो पटक मस्को जाँदैछन्। यो युद्धका बीच सी मस्को पुग्ने पहिलो उच्च तहका अन्तर्राष्ट्रिय नेता हुन्।
रुसद्धारा युक्रेनमा हमला भएपछि चीन रुसको साथमा उभिँदै आएको पश्चिमा विश्लेषकहरुको आरोपका बीच सी मस्को पुगेका हुन्। अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाएपछि चीनले अमेरिकाको उक्त कदमको विरोध गर्दै यसलाई आगोमा इन्धन थप्ने कदम भनेको थियो। यसबाहेक रुसले जस्तै चीनले पनि उत्तर एट्लान्टिक सन्धि (नाटो) विस्तारमा आपत्ति जनाउँदै आएको छ।
सी मस्को जानुको उद्देश्य के हो? के सी युद्ध अन्त्य गर्ने प्रस्ताव लिएर मस्को पुगेका हुन्? यो प्रश्नले पश्चिमा लगायत सिङ्गो विश्वले उत्तर खोजिरहेको जानकारहरु बताउँछन्। युद्ध समाप्त नभए पनि कम्तीमा पुटिन र जेलेन्स्कीलाई युद्धबिरामका लागि मनाउन सीले जोड दिने अनुमान भने चिनियाँ सञ्चारमाध्यमले पनि गरेका छन्। सी भने आफ्नो भ्रमणले कूटनीतिक च्यानलहरू खुल्ने र चीनलाई विश्व नेता भनिन थाल्नेमा आशावादी छन्।
द्विपक्षीय दस्तावेजमा हस्ताक्षर गर्ने
रुसी अधिकारीका अनुसार दुई नेताले रुस र चीनबीचको बृहत् र रणनीतिक साझेदारी विस्तार गर्ने विषयमा छलफल गर्नेछन्। अन्तर्राष्ट्रिय क्षेत्रमा रुस–चिनियाँ सहयोगलाई अझ प्रगाढ बनाउने विषयमा पनि वार्ता हुनेछ। यसबाहेक चिनफिङ र पुटिनले महत्वपूर्ण द्विपक्षीय दस्तावेजमा हस्ताक्षर गर्नेछन्।
यसअघि रुस युक्रेन युद्ध सुरु हुनुको पूर्वसन्ध्यामा ४ फेब्रुअरी २०२२ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शीतकालीन ओलम्पिकको उद्घाटन समारोहको लागि बेइजिङ पुगेका थिए। यहाँ उनले रुसले ‘एक चीन नीति’ लाई समर्थन गरेका थिए। दुवै देशले एकअर्काको हित रक्षाका लागि सहयोग गर्ने कुरा पनि गरेका थिए। यसमा आफ्नो सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र घरेलु मामिलामा कुनै पनि अन्य देशको हस्तक्षेप स्वीकार नगर्ने सन्देश प्रवाह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।