काठमाडौं– लुम्बिनी घुम्न पुग्ने विदेशी तथा आन्तरिक पर्यटकमा वृद्धि भएको छ।
कोभिड–१९ महामारीका कारण लुम्बिनी भ्रमण गर्न पुग्ने बाह्य तथा आन्तरिक पर्यटकमा कमी भएपनि २०२२ पछि पर्यटकमा वृद्धि भएको लुम्बिनी विकास कोषले जनाएको छ।
सन् २०१९ सम्म करिब १७ लाख बाह्य र आन्तरिक पर्यटक आउने गरेकोमा कारोना महामारीको कारण घटेर २०२० मा २ लाख ९२ हजार पर्यटक मात्रै आएको कोषले जनाएको छ। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा लुम्बिनी विकास कोषका प्रमुख प्रशासकिय अधिकृत ज्ञानिन राईले सन् २०२३ को पछिल्लो तीन महिनासम्ममा २५ हजार बढी विदेशी पर्यटक आगमन भएको बताए।
उनले २०२१ मा ११९७ जना विदेशी, ४३ हजार ७३२ भारतीय र आन्तरिक ४ लाख ६३ हजार ९६३ पर्यटक आएको जनाए। २०२२ मा विदेशी पर्यटक २३ हजार ९४२, भारतीय २ लाख ३० हजार ८६३ र आन्तरिक ६ लाख ४९ हजार ७८ पर्यटक लुम्बिनी घुम्न पुगेका थिए। उनले २०२२ पछि लुम्बिनी घुम्नको लागि आउने आन्तरिक बाह्य तथा भारतीय पर्यटकमा वृद्धि हुँदै गएकाले आगामी दिन बढ्दै जाने आशा जगाएको बताए।
उनले तिलौराकोट संरक्षित स्मारक क्षेत्र सन् २०२५ सम्म विश्व सम्पदा सूचीमा सूचीकरण गर्ने गरी काम अगाडि बढाएको जनाए। उनले तिलौराकोटको २०१४ देखि जापनिज फन्ड ईन ट्रस्टको सहयोगमा र युनेस्कोको संयोजनामा बेलायतको दुर्हम विश्व विद्यालय र पुरातत्व विभागको पुरातत्वविद्हरुको टोलीले उत्खनन र अनुसन्धान गरेको बताउनु बताए।
उनले लुम्बिनी विकास कोषले लुम्बिनी गुरुयोजना दुई वर्षभित्र सक्नेगरी स्रोत जुटाएर काम गर्ने योजना बनाएको बताए। उनले गुरुयोजना सम्पन्न गर्नका लागि ७ अर्ब ५० करोड बराबरको स्रोत सुनिश्चिता भएको पनि जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।