काठमाडौं– अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार आफ्नो गिरफ्तारी हुने आशंका गरेका छन्। आफू पक्राउ पर्ने भयका बीच ट्रम्पले आफ्ना समर्थकहरूलाई व्यापक विरोध प्रदर्शन गर्न आह्वान गरेका छन्।
यद्यपि उनका वकिलले कानुनी अधिकारीहरुबाट यस्तो कुनै संकेत नभएको बताएका छन्। पूर्वराष्ट्रपति ट्रम्पले मिडिया रिपोर्टमा आधारित रहेर उक्त आशंका गरिरहेको बीबीसीको समाचारमा उल्लेख छ।
अहिले अमेरिकी अभियोजकहरूले ट्रम्पमाथि लागेका अभियोगहरुमा अनुसन्धान गरिरहेका छन्। अनुसन्धानको रिपोर्ट अर्को हप्ता आउनसक्ने बताइएको छ।
यदि उनलाई गिरफ्तार गर्न निर्देशन दिइयो भने यो अमेरिकी पूर्वराष्ट्रपतिविरुद्ध ल्याइएको पहिलो आपराधिक मुद्दा हुने बताइएको छ। ट्रम्पलाई सन् २०१६ मा राष्ट्रपतिको चुनाव हुनुअघि पोर्न स्टार ड्यानियललाई हश मनी (सूचना गोप्य राख्न घुस) दिएको अभियोग छ। जुन ट्रम्पका वकिलले भुक्तानी गरेका थिए।
अन्य धेरै मुद्दामध्ये यसमा उनी फस्न सक्ने सम्भावना देखिएको छ। ट्रम्पले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन उम्मेदवार बन्ने अभियान जारी राख्ने वाचा गरेका छन्। त्यसका संकेत समेत देखाइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।